close

विद्युतीय सवारीमा बढाइएको कर फिर्ता लिन नाडाको माग

टेकपाना टेकपाना

जेठ २४, २०७९ १८:४४

विद्युतीय सवारीमा बढाइएको कर फिर्ता लिन नाडाको माग

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सरकारले विद्युतीय सवारीमा वृद्धि गरेको भन्सार तथा अन्त: शुल्क कर खारेज गर्न अटोमोबाइल व्यवसायीले माग गरेका छन् ।

नाडा अटोमोबाइल्सअशाेसियन अफ नेपालले मंगलबार आयोजना गरेको कार्यक्रममा सहभागी सरोकारवालाहरूले विद्युतीय सवारीमा अनावश्यक कर थोपरिएको भन्दै तत्काल खारेज गर्न माग गरेका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय उत्पादनकाे प्रवर्द्धन गर्ने आश्वासन देखाएपनि बजेटबाट निराशामात्रै दिएकाे उनीहरूकाे भनाइ छ ।

सरकारले विद्युतीय सवारीमा वृद्धि गरेको अन्तःशुल्क र भन्सार शुल्क खारेज गरी पहिलेकै कर यथावत् राख्न नाडाका अध्यक्ष ध्रुव थापाले माग राखे ।

‘बजेटमा १०० किलोवाटभन्दा बढी क्षमताका विद्युतीय सवारी साधनहरुमा भन्सार तथा अन्तःशुल्क महसुलमा अत्यधिक वृद्धि हुँदा विद्युतिय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहनको सट्टा दुरुत्साहित भएको छ । नीति बनाउँदा सरकारले सरोकारवालासँग सुझाव मागेपनि त्यसलाई सम्बोधन भने गर्न सकेन ,’ उनले भने ।

कार्यक्रममा नाडाका उपाध्यक्ष एवम् इभी कमिटी सभापति राजनबाबु श्रेष्ठले सरकारको विद्युतीय सवारीमा स्थिर नीति ल्याउनुपर्ने तर्क राखे ।

विद्युतीय चार पाङ्ग्रे सवारीसाधनमा वृद्धि गरिएको भन्सार महसुल एवं अन्त शुल्क अव्यावहारिक रहेको बताउँदै उनले यसबाट विद्युतीय चार पाङ्ग्रे प्रवर्द्धनमा थप चुनौती पुग्ने विचार राखे ।

नेपालको भौगलिक अवस्थाअनुसार २०० किलोवाट क्षमताका विद्युतीय सवारी साधनहरुलाई समेत पुरानै व्यवस्था अनुसार भन्सार तथा अन्तःशुल्क महसुल कायम गर्न व्यवसायीले आग्रह गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६