close

हनी ट्रयापिङः सामाजिक सञ्जालमा ‘सुन्दरी’बाट यसरी हुँदैछ पुरुषको सिकार

टेकपाना टेकपाना

साउन ३, २०७९ १५:४२

हनी ट्रयापिङः  सामाजिक सञ्जालमा ‘सुन्दरी’बाट यसरी हुँदैछ पुरुषको सिकार

काठमाडौं । हनी ट्र्रयापिङमा संलग्न रहेको अभियोगमा प्रहरीले आइतबार तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बौद्ध बस्ने सिन्धुली कमलामाई नगरपालिका-६ ठेगाना भएकी ३१ वर्षीया कल्पना बस्नेत, भक्तपुर बालकोट बस्दै आएका सिन्धुली कमलामाई नगरपालिका-४ का २८ वर्षीय सञ्जय कार्की र कमलामाई नगरपालिका-६ का ३१ वर्षीय कृष्णहरि खड्का रहेका छन् ।

पछिल्लो समय काठमाडौं उपत्यकास्थित विभिन्न स्थानहरूमा आपराधिक लाभ लिने उद्देश्यले विभिन्न महिला र पुरुषको समूहलाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरी प्रत्यक्ष भेटघाट गरेर फसाउने प्रवृत्ति बढ्दै गएको छ ।

यसमा सामाजिक सञ्जालमा प्रेमको नक्कली नाटक रचेर भेटघाटपछि झुट्टा मुद्दा लगाएर डर धम्की तथा त्रास देखाई मोलमोलाइ गरेर ब्ल्याकमेल हुने गरेको छ ।

यसैगरी रकम असुल गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न तीन जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट केटीको प्रयोग गरी पुरुष ब्यक्तिहरूलाई खाजा खाने बहानामा भेटघाटका लागि रेष्टुरेन्टमा बोलाउने गरेका थिए ।

यस किसिमको भेटघाट पश्चात झुटा मुद्दा लगाएर फसाई दिने भन्दै पीडितलाई डर धम्की देखाएर ठूलो रकम माग गर्ने, दबाबमूलक रुपमा रकम दिन बाध्य गराउन नक्कली प्रहरी निरीक्षक समेत खडा गर्ने गरिएको प्रहरीले जनाएको छ ।

यसरी मानसिक हैरानी दिने र पीडित व्यक्तिका आफन्तलाई समाजिक सञ्जालमार्फत साथी बनाई प्रहरीकोमा निवेदन दिएको छु भन्दै नक्कली प्रहरी निरीक्षकसँग कुरा गरिरहेको रेकर्ड पठाए धम्काउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३