close

प्रोग्रामिङका विद्यार्थीका लागि सीप तिखार्न उपयोगी उत्कृष्ट ७ वेबसाइट

टेकपाना टेकपाना

साउन ३, २०७९ १४:२८

प्रोग्रामिङका विद्यार्थीका लागि सीप तिखार्न उपयोगी उत्कृष्ट ७ वेबसाइट

काठमाडौं । वर्तमान समयमा प्रोग्रामिङ अत्यन्त महत्त्वपूर्ण सीप हो । सानादेखि ठूला सबै व्यवसायमा प्रविधिको प्रयोग अनिवार्य जस्तै भइसकेको छ । वेब डेभलपमेन्ट, स्क्रिप्टिङ, डेटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स, एप डेभलपमेन्ट र सफ्टवेयर डेभलपमेन्ट हरेक क्षेत्रमा प्रोग्रामिङको अवधारणा आवश्यक पर्छ । 

बजारमा अत्यधिक माग हुने सीपमा कोडिङसँग सम्बन्धित कामहरू पर्दछन् । तपाईँ पनि प्रोग्रामिङ सिक्दै हुनुहुन्छ भने  नियमित रूपमा आफ्नो सीपमा तिखार ल्याउनु पर्ने हुन्छ ।

इन्टरनेटमा हजारौँ स्रोत सामग्री उपलब्ध भए पनि आफ्नो क्षमता मूल्याङ्कन गर्न उत्कृष्ट कोडिङ प्लेटफर्महरू केके हुनसक्छन् भन्ने कुराको जानकारी तपाईँलाई नहुन सक्छ ।

यस्ता वेबसाइटको सहयोगमा तपाईँले आफूलाई प्रोग्रामिङको क्षेत्रमा आफूलाई खरो प्रतिस्पर्धीको रूपमा तयार पार्न सक्नुहुन्छ । हरेक वेबसाइटले कोडिङ सिक्न वा भएको सीपमा अझ तिखार ल्याउन आवश्यक स्रोत सामग्री उपलब्ध गराउँछन् ।  

१. कोडसेफ (CodeChef) 

कोडसेफ (CodeChef) ले तपाईँलाई सर्टिङ, स्ट्रिङ्ग, बाइनरी सर्च, डेटा स्ट्रक्चर, डाइनामिक प्रोग्रामिङ जस्ता विभिन्न शीर्षकमा आफ्नो ‘डिफिकल्टी लेभल’ (असहजताको स्तर) अनुसार अभ्यासको समूह छनौट गरेर सिक्न सक्नुहुन्छ ।

२. कोडरबाइट (Coderbyte) 

कोडिङ सिकाइ र सुधारका लागी डिजाइन गरिएको कोडरबाइट (Coderbyte) साइटले तपाईँलाई कोडिङ अन्तर्वार्ताका लागि पनि आवश्यक स्रोत सामग्री उपलब्ध गराउँछ ।

यसको सशुल्क र निःशुल्क दुवै संस्करण उपलब्ध छ । निःशुल्क भर्सनमा तपाईँले ‘कम्पिटिटिभ कोडिङ’ (प्रतिस्पर्धात्मक) सिक्न सक्नुहुन्छ ।  

३. कोडवार्स (Codewars)

यसमा तपाईँले आफ्नो इच्छा अनुसारको ‘प्रोग्रामिङ ल्याङ्ग्वेज’ छानेर  सोझै कोडिङ सिक्न सक्नुहुन्छ ।

तपाईँले आफूजस्तै कोडवार्स (Codewars) का अन्य प्रयोगकर्ताहरूसँग अन्तर्क्रिया गर्दै सिक्ने अवसर पनि यसमा पाउन सक्नुहुन्छ।  

४. कोडिनगेम (CodinGame) 

कोडिनगेम (CodinGame) मा उपलब्ध स्रोत सामग्रीले तपाईँको प्रोग्रामिङ क्षमता अभिवृद्धि गर्न, नयाँ अवधारणा सिक्नका लागि सहज, मध्यम, जटिल अभ्यासहरू उपलब्ध गराउँछ ।  

५. ह्याकरर्‍याङ्क (HackerRank)

ह्याकर र्‍याङ्क (HackerRank) प्राविधिक अन्तर्वार्ताका लागि अभ्यास गर्ने माध्यमको रूपमा परिचित छ ।

ह्याकरर्‍याङ्कले ‘एल्गोरिदम’, ‘डेटा स्ट्रक्चर’ लगायतका शीर्षकहरूमा आफ्ना एक करोड ८० लाख बढी प्रयोगकर्तालाई कोडिङ चुनौती दिने गर्दछ । यसमा तपाईँले आफ्नो ‘कोड डिबग’ गर्न र परीक्षण गर्न सक्नुहुन्छ ।  

६. लिटकोड (LeetCode)

लिटकोड (LeetCode) ले २२५० भन्दा बढी ‘कम्पिटिटिभ’ अभ्यास उपलब्ध गराउँछ ।

एल्गोरिदम, डेटाबेस स्ट्रक्चर र डायनामिक प्रोग्रामिङ जस्ता विषयहरूमा अभ्यासका लागि तपाईँले यसमा विभिन्न सामग्री पाउन सक्नुहुन्छ । धेरै जसो प्रविधि कम्पनीले लिने कोडिङ परीक्षाहरूमा यसकै अभ्यासले सघाउने गरेको पाइन्छ।

७. प्रोजेक्ट यलर (Project Euler)

प्रोजेक्ट यलर (Project Euler) ले गणित र कम्प्युटेसनल प्रोग्रामिङ मिलाएर ‘कन्सेप्चुअल’ अभ्यास उपलब्ध गराउँछ ।

१०८ प्रोग्रामिङ ल्याङ्ग्वेज र १० लाखभन्दा बढी प्रयोगकर्ताहरू रहेको यो प्रोजेक्ट यलरले ‘डिफिकल्टी लेभल’ (असहजताको स्तर) अनुसार अभ्यास छुट्ट्याएको हुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३