close

एटीएम मसिन फोरेर पैसा चोर्ने अनिश तामाङ पक्राउ

टेकपाना टेकपाना

भदौ ५, २०७९ १८:१३

एटीएम मसिन फोरेर पैसा चोर्ने अनिश तामाङ पक्राउ

काठमाडौं । एटीएम मसिन फुटाएर रकम चोरी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी (पूर्व) देवचुली नगरपालिका घर भई कास्की पोखरा महानगरपालिका-३० डुँडाको मुख बस्ने २१ वर्षीय अनिश तामाङ रहेका छन् ।

तामाङलाई पोखरा महानगरपालिका-३० अर्घौ चोकस्थित एनएमबि बैंकको एटीएम तोडफोड गरी दुई ओटा क्यासकेट र नगद चोरी गरेको अभियोग लागेको छ ।

गत साउन ३ गते बिहान १ बजे कास्की जिल्ला पोखरा महानगरपालिका-३० अर्घाै चोकस्थित एनएमबी बैंकको एटीएम बुथमा रहेको रकम चोरी भएको सूचना जिल्ला प्रहरी कार्यालय कास्कीलाई प्राप्त भयो ।

सोही दिन बिहान २ बजे पोखरा महानगरपालिका-२७ तालचोकमा रहेको एनआईसी एसिया बैंकको एटीएम मसिन फोर्ने प्रयास भएको खबर पनि जिप्रका कास्कीले पाएकाे थियाे ।

दुई ओटा घटनाको सूचना प्राप्तपछि जिप्रका तथा मातहतका प्रहरी कार्यलयबाट प्रहरी परिचालन भई अनुसन्धान गर्दा दुवै घटनामा एकै व्यक्ति संलग्न भएकाे पाइयाे ।

जिप्रका कास्कीका अनुसार सोही ठाउँमा एक मोटरसाइकल समेत फेला परेको थियो । उक्त मोटरसाइकलका धनी खोजी गर्दा सो मोटरसाइकल पनि चोरी गरेको पत्ता लाग्यो ।

सो घटनामा संलग्न व्यक्ति पक्राउका लागि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय सिसुवा कास्कीबाट खटिएको संयुक्त अनुसन्धान टोलीले गत बिहीबार रूपन्देही बेलहिया (नेपाल भारत सीमा नजिक) बाट भारततर्फ जाँदै गरेको अवस्थामा तामाङलाई पक्राउ गरेको हाे ।

तामाङलाई थप अनुसन्धान र कारबाहीका लागि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसूरमा सात दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४