close

अस्पतालका लागि अनलाइन टिकट काट्ने सिस्टम बनाउँदै दूरसञ्चार प्राधिकरण

टेकपाना टेकपाना

भदौ ७, २०७९ १७:५९

अस्पतालका लागि अनलाइन टिकट काट्ने सिस्टम बनाउँदै दूरसञ्चार प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण दूरसञ्चार क्षेत्रको नियामक निकाय हो, जसको क्षेत्राधिकार दूरसञ्चार तथा त्यससँग सम्बन्धित सेवाको नियमन तथा निरीक्षण गर्नु हो ।

पछिल्लाे केही वर्षयता प्राधिकरणका बजेट तथा कार्यक्रममा भने फरक परियोजनाले स्थान पाउन गरेका छन्, जुन याे क्षेत्रसँग पूर्ण असम्बन्धित छन् ।

यसको ज्वलन्त उदाहरण चालू आर्थिक वर्ष २०७९/८० को बजेटमा समेटिएको एउटा कार्यक्रम बनेको छ । प्राधिकरणको चालू आर्थिक वर्षको बजेट हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट स्वीकृत भई प्राधिकरण बोर्डले अनुमोदन गरेको छ ।

उक्त बजेट तथा कार्यक्रममा प्राधिकरणले अस्पतालका लागि अनलाइन टिकेट काट्ने सिस्टम निर्माणकाे कार्यक्रम राखेको छ ।

‘अस्पतालहरूको अनलाइन माध्यमबाट टिकट प्रदान गर्ने व्यवस्था मिलाउन आवश्यक सफ्टवेयर तथा प्रविधि विकास गर्ने,’ प्राधिकरणको कार्यक्रममा भनिएको छ ।

हुन त यो कार्यक्रम प्राधिकरण आफैंले भने राखेको देखिँदैन । कुल ५० लाख बजेट छुट्याइएको यो कार्यक्रम मन्त्रालयले राखेको हो ।

मन्त्रालयको प्रस्तावमा राखिएको यो कार्यक्रम आईसीटी सहयोग अन्तर्गत प्रविधि अनुसन्धान तथा विकास शाखामार्फत कार्यान्वयन हुने उल्लेख छ ।

अस्पतालहरूमा राखिने यस्ता सिस्टमले सेवाग्राहीलाई सेवा प्राप्तिमा सहज हुने अपेक्षा गरिएकाे छ ।

यसअघि प्राधिकरणले मन्त्रालयकै सिफारिसमा सामुदायिक विद्यालयमा आईटी ल्याब निर्माण गर्नेजस्ता आफ्नो क्षेत्राधिकार बाहिरका कार्यक्रममा ठूलो लगानी गरेको छ ।

चालू आवको कार्यक्रममा समेत माध्यमिक तहका सामुदायिक विद्यालयमा सूचना प्रविधिको प्रयोग गर्ने कार्यक्रम राखिएको छ

यसका साथै प्राधिकरणले चालू आवमा दुर्गम क्षेत्रका अस्पतालमा गुणस्तरीय टेलिमेडिसिन सेवा उपलब्ध गराउन आवश्यक प्रविधिको व्यवस्था गर्ने कार्यक्रम राखेको छ ।

मन्त्रालयबाट सिफारिस भएको यो कार्यक्रमको लागि दुई करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३