close

सञ्चालनमा आयो विद्युत प्राधिकरणको पहिलो चार्जिङ स्टेसन

टेकपाना टेकपाना

भदौ १४, २०७९ १५:३७

सञ्चालनमा आयो विद्युत प्राधिकरणको पहिलो चार्जिङ स्टेसन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो पहिलो चार्जिङ  स्टेसन सञ्चालनमा ल्याएको छ । मङ्गलबार रत्नपार्क स्थित प्राधिकरणको प्राङ्गणमा आयोजित एक कार्यक्रमबीच ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले प्राधिकरणको चार्जिङ स्टेसन उद्घाटन गरेकी हुन् ।

देशभर चार्जिङ स्टेसन निर्माण गर्ने कार्यक्रम अन्तर्गत यो पहिलो चार्जिङ स्टेसन सञ्चालनमा आएको हो । प्राधिकरणले निर्माण गर्ने हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर राखिने बताइएको छ ।

जसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर रहनेछ । साथै सबै चार्जिङ स्टेसनमा अनलाइन बिलिङ प्रणाली समेत हुनेछ । चार्जिङ स्टेसनमा फास्ट चार्जिङका लागि ६० किलोवाटका डीसी तथा २२ किलोवाटका एसी चार्जरहरू राखिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले देशका विभिन्न स्थानमा राखिने चार्जिङ स्टेसनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग सहकार्य गरेको छ । सशस्त्र प्रहरीले १७ ओटा र नेपाल प्रहरीले २५ ओटा स्थानमा चार्जिङ स्टेसन निर्माण गर्नेगरी दुवै सुरक्षा निकायसँग यस अघि नै सम्झौता भइसकेको छ । चार्जिङ स्टेसनहरूलाई व्यवस्थित गर्न प्राधिकरणले स्युचारटारमा छुट्टै डेटा सेन्टर समेत बनाइसकेको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३