काठमाडौं । गुगलले आउँदो नोभेम्बरबाट लागू हुने गरी गुगल प्ले स्टोरको नयाँ नीति जारी गरेको छ । नयाँ नीतिगत व्यवस्था अनुसार विज्ञापनमा प्रतिबन्ध लगाउने प्राइभेसीसँग सम्बन्धित एपलाई प्ले स्टोरमा प्रतिबन्ध लाग्ने भएको छ ।
विशेषगरी भीपीएन एप यसबाट धेरै प्रभावित हुने अनुमान गरिएको छ । हाल गुगल प्ले स्टोरमा उपलब्ध निःशुल्क तथा सःशुल्क भर्सनका कतिपय भीपीएन एपले विज्ञापन समेत प्रतिबन्ध लगाउँदै आएका छन् ।
अब भने त्यस्ता एपलाई प्ले स्टोरबाटै हटाउने तयारी गुगलले गरेको हो । गुगलले नोभेम्बर १ बाट यो नियम सबै डेभलपरहरूलाई लागू हुने जनाएको छ ।
विषेशगरी यस्ता भीपीएन एपहरूले प्रयोगकर्ताको डेटा ट्रयाक गरी विज्ञापनमार्फत आम्दानी गर्ने गरेको दाबी गुगलको छ । यस्तोमा गुगलले प्रयोगकर्ताको डेटाको सुरक्षालाई समेत मध्यनजर गर्दै यो नीति ल्याएको जनाएको छ ।
गुगलको यो नीति प्रयोगकर्ताको डिभाइसमै डेटा ट्राफिक फिल्टर गर्ने एपको हकमा समेत लागू हुनेछ । यो नीतिको सबैभन्दा ठुलो असर सर्च इन्जिन डकडकगोलाई पर्ने आँकलन गरिएको छ ।
हुन् त डकडकगोले भने आफूलाई नयाँ नीतिबाट कुनै असर नपर्ने बताएको छ । “हामीलाई नयाँ नीतिले असर पर्छ जस्तो लाग्दैन,” कम्पनीले भनेको छ, “तर पनि हामी गुगल प्ले स्टोरको नयाँ नीति अध्ययन गरिरहेका छौं ।”