close

इन्टरनेट, आईपीटिभी लगायतको एउटै प्याकेज नबनाउन सेवाप्रदायकलाई आइस्पानको अपील

टेकपाना टेकपाना

भदौ १७, २०७९ २०:४

इन्टरनेट, आईपीटिभी लगायतको एउटै प्याकेज नबनाउन सेवाप्रदायकलाई आइस्पानको अपील

काठमाडौं । इन्टरनेट सेवा  प्रदायक सङ्घ (आइस्पान) ले नियामक नेपाल दूरञ्चार प्राधिकरणको निर्देशन शतप्रतिशत कार्यान्वयन गर्न देशभरका सबै सेवाप्रदायकलाई आग्रह गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै इन्टरनेट सेवाप्रदायकहरूको सङ्गठन आइस्पानले यस्तो अपील गरेको हो ।

यसअघि इन्टरनेट सेवाप्रदायकहरूको लगानीको संरक्षण, ग्राहकलाई गुणस्तरीय इन्टरनेट सेवा, इन्टरनेट बजारको अवस्था सम्बन्धी नियामक नेपाल दुरसञ्चार प्राधिकरणले  गत २५ साउनमा सेवाप्रदायकलाई एक निर्देशन जारी गरेको थियो । जसमा सेवाको शुल्क तथा महशुलदर स्वीकृत नगराई आफूखुशी मूल्य तोक्ने गरिएको भन्दै त्यसो नगर्न भनेको थियो ।

“आफूखुशी मूल्य तोकी इन्टरनेट सेवाप्रदायकको वेबसाइटमा विज्ञापन तथा सूचना प्रकाशन गरी ग्राहकसँग शुल्क असुल गर्दै आएको देखिएकाले प्राधिकरणबाट महशुल दर स्वीकृत गराएर मात्र लागू गर्नु हुन जानकारी गराइन्छ,” प्राधिकरणको निर्देशनमा भनिएको थियो, “उक्त निर्देशन उलङ्घन गरेको देखिएमा दूरसञ्चार ऐनको दफा ४७ अनुसार कारबाही अगाडि बढाइनेछ ।”

साथै सोही दिन प्राधिकरणले  इन्टरनेट सेवाको मूल्य र टिभी सेवा, राउटर लगायतको एकमुस्ट प्याकेज बनाएर बिक्री गर्नु समेत गैरकानूनी हुने भन्दै  अर्को निर्देशन दिएको थियो । यस्तो कार्य क्रस सबसिडी गर्न नहुने अनुमतिपत्रको मर्म विपरित हुने भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न सेवाप्रदायकलाई भनिएको थियो ।

जसमा सेवाप्रदायकले दुवै सेवा संयुक्त रुपमा सञ्चालन गरिरहेको भए ग्राहकसँग शुल्क लिने क्रममा बिजक जारी गर्दा सेवा प्रकृतिको आधारमा इन्टरनेट सेवा र टिभी सेवा लगायत अन्य प्रकृतिको छुट्टा छुट्टै बिजक जारी गर्नुपर्ने उल्लेख छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३