close

बाइकमा मोबाइल स्ट्यान्ड राख्न नदिनुको वैज्ञानिक कारण दिनुपर्छ

टेकपाना टेकपाना

भदौ १८, २०७९ ६:५३

बाइकमा मोबाइल स्ट्यान्ड राख्न नदिनुको वैज्ञानिक कारण दिनुपर्छ

ट्राफिक प्रहरी कार्यालयले बाइकमा मोबाइल स्ट्यान्ड (होल्डर) राख्न नपाउने व्यवस्था गरेको छ । पछिल्ला केही दिनदेखि यो विषयले चर्चा पाइरहेको छ ।

मोबाइल स्ट्यान्ड राख्न पाउने नपाउने नीतिगत व्यवस्था के छ, त्यो अर्को पाटो हो । तर बाइकमा मोबाइल स्ट्यान्ड राख्दैमा मोडिफिकेसन हुन्छ भन्ने तर्कमा म सहमत छैन ।

स्थायी रूपमा केही परिवर्तन गरे पो मोडिफिकेसन भयो त । बाइकमा मोबाइल स्ट्यान्ड राख्ने काम अस्थायी हो । यो एउटा एक्सेसरिज मात्रै हो । आवश्यक नपरे सहजै निकाल्न सकिन्छ ।

यदि यसलाई मोडिफिकेसन मान्ने हो भने त गाडीमा एयर प्रेसर पनि राख्नुभएन । त्यसमा भगवानको मूर्ति राख्दा पनि मोडिफिकेसन नै भनिन्छ होला । साइरन र झन्डा राख्ने सरकारी गाडीलाई के भन्ने त उसो भए ?

स्थायी रूपमा कुनै सामान जडान नगरेसम्म त्यसलाई मोडिफिकेसनमा राख्नुहुन्न भन्ने मेरो मत हो । सुरक्षाका हिसाबले मोबाइल स्ट्यान्ड राख्न नदिनुमा नियामकको आफ्नै तर्क होला ।

कतिपय चालकहरू फोनमा कुरा गर्दै सवारी गुडाउँछन् । कसैले एउटा हातले चुरोट सेवन गर्दै सवारी चलाउँछन् । कसैले ध्यान जीपीएसमा हुन्छ । तर, मोबाइल स्ट्यान्ड राखेकै भरमा मोडिफिकेसन भनेर २० हजारसम्म जरिवाना तिराउने निर्णय गर्नचाहिँ अस्वाभाविक नै हो ।

विभिन्न तथ्याकंले सवारीसाधनमध्ये बाइक असुरक्षित वा जोखिमयुक्त हुने देखाएको छ । यहीकारण नियामक निकायले सुरक्षाका लागि अग्रसरता देखाउनुलाई नराम्रो मान्न मिल्दैन ।

बरु बाइकमा के के राख्न अनुमति दिने भन्ने कुराको वैज्ञानिक कारण दिनुपर्छ । अहिले आएका प्रविधिका नवीनतम उपलब्धिको सही र सुरक्षित प्रयोगमा स्पस्ट योजना हुनुपर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३