close

प्लसटु परीक्षाको नतिजा आएसँगै फेरि डाउन भए सरकारी वेबसाइट

टेकपाना टेकपाना

भदौ १७, २०७९ २०:२२

प्लसटु परीक्षाको नतिजा आएसँगै फेरि डाउन भए सरकारी वेबसाइट

काठमाडौं । अघिल्ला वर्षहरूमा जस्तै यस पटक पनि प्लसटु तहको नतिजा प्रकाशित भएसँगै सरकारी वेबसाइट डाउन भएका छन् । सरकारी वेबसाइटको सर्भरले एकै पटक आउने भारी मात्राको ट्राफिक धान्न नसक्दा यो समस्या दोहोरिएको हो । 

विद्यार्थीको सहजताका लागि अनलाइनमा नतिजा हेर्ने व्यवस्था मिलाइएको भए पनि सरकारी वेबसाइट नै नचल्ने अवस्थामा पुग्ने गरेका छन् ।  प्लस टु मात्र नभएर एसईईको नतिजा आउँदा होस् वा सरकारको बजेट सार्वजनिक हुँदा नै किन नहोस्, सरकारी वेबसाइट डाउन हुनु सामान्य मान्नुपर्ने अवस्था बनेको छ । 

यस्तोमा वेबसाइट नचल्दा विद्यार्थी तथा अन्य सेवाग्राहीले अनावश्यक सास्ती पाउने गरेका छन् । नेपालका अधिकांश सरकारी वेबसाइट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा होस्टिङ गरिएका छन् ।

एकैपटक आउने धेरै ट्राफिक धान्न सक्ने क्षमता नभएकाले रिजल्ट हेर्दा वेबसाइट डाउन हुने गरेको केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलले बताए । टेकपानासँगको कुराकानीमा उनले भने, “ट्राफिक बाँडियोस् भनेरै विभिन्न अनलाइन साइटमा नतिजा राख्ने गरिएको छ ।”

यि साइटहरू नितान्त रूपमा नतिजा प्रकाशनका लागि तयार नपारिएकाले एकैपटक आउने धेरै ट्राफिक धान्न नसक्ने र त्यही कारण डाउन हुने गरेको उनको तर्क छ । “नागरिक एपको साइटमा धेरै ट्राफिक धान्ने क्षमता रहेको छ । यदि नतिजा त्यहाँबाट उपलब्ध गराउने हो भने यस्तो समस्या रहँदैन,” उनले अगाडि भने । 

राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम जस्ता साइट सामान्य तरिकाले तयार पारिने उनले जानकारी दिए । जसले गर्दा ती साइटको स्टोरेज क्षमता कम हुन्छ र जाँचको यस्तो समयमा प्राय डाउन भइरहन्छन् ।

यो समस्याबाट मुक्ति पाउन ‘मल्टिपल ट्राफिक शेयरिङ साइट’ बनाउने विकल्प समेत रहेको पोखरेलले बताए । “प्राप्त सुझावलाई लिएर हामी अर्को पटकबाट ट्राफिक सन्तुलन कसरी कायम राख्न सकिन्छ, त्यतिका ट्राफिक कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा केन्द्रित हुन्छौँ,” उनले थपे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३