काठमाडौं । स्मार्टफोनलाई स्टाटलाइट नेटवर्कसँग सिधै जोड्न एक हप्ता अगाडि मात्र टी-मोबाइल र स्पेसएक्सले सहकार्य गर्ने घोषणा गरेका थिए । यो सहकार्यले स्टारलिंकको भीटु स्पेक्ट्रम प्रयोग गर्ने बताइएको छ ।
यसैबीच गुगलको प्लेटफर्मस एन्ड इकोसिस्टम विभागका सिनियर भाइस प्रेसिडेन्ट हिरोषि लखिमरले एन्ड्रोइडमा स्याटलाइट कम्युनिकेशन उपलब्ध गराउन काम गरिरहेको उल्लेख गरेका छन् ।
यद्यपि उनले यो सेवा कुन सफ्टवेयरको अपडेटमा उपलब्ध हुने भन्ने विषयमा केही बताएका छैनन् ।
टी-मोबाइल र स्पेसएक्सले भने स्याटलाइट नेटवर्कको बेटा भर्सन सन् २०२३ को अन्त्यतिर सुरु गर्ने बताएको छ । त्यो समय एन्ड्रोइड १४ अपडेट सार्वजनिक हुने समय पनि हो ।
यसले गर्दा पनि सरोकारवालाहरूले एन्ड्रोइड १४ को अपडेटमा स्याटलाइट नेटवर्कको उपलब्ध हुने अनुमान गरेका छन् ।
सुरुको चरणमा अमेरिकी प्रयोगकर्तालाई उपलब्ध गराइने र पछि विश्वभरको प्रयोगकर्तालाई उपलब्ध गराइने बताइएको छ ।
यो नेटवर्कको स्पिड दुई एमबीपीएसदेखि चार एमबीपीएस हुने बताइएको छ । यद्यपि मेसेज मात्र पठाउनको लागि भने पर्याप्त हुन्छ ।
स्याटलाइटको सहयोगमा प्रयोगकर्ताले सहजै मेसेज पठाउन सक्नेछन् ।
मोबाइल नेटवर्क नभएको ठाउँ, ग्रामीण क्षेत्रमा तथा कुनै आकस्मिक समयमा स्याटलाइटहरूबाट मोबाइल प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
भविष्यमा गएर भ्वाइस कलको लागि पनि यो नेटवर्क तयार गरिने पनि बताइएको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
