काठमाडौं । ‘क्रिप्टो डटकम’ नामक एक क्रिप्टोकरेन्सी कम्पनीका कर्मचारीले गलत खातामा करिब एक अर्ब रुपैयाँ रकम पठाएका छन् ।
एक अष्ट्रेलियाली महिलाले कम्पनीसँग १०० अष्ट्रेलियन डलर (८,६०० रुपैयाँ) फिर्ता गर्न अनुरोध गरेकी थिइन् । तर कम्पनीका कर्मचारीले भने भुलवश एक करोड पाँच लाख अष्ट्रेलियन डलर (करिब ९१ करोड १२ लाख रुपैयाँ) ती महिलाको अकाउन्ट नम्बरमा पठाइदिए ।
अदालतमा उपलब्ध कागजातमा उल्लेख भएअनुसार क्रिप्टोकरेन्सी एक्सचेन्ज प्लेटफर्मलाई यो त्रुटि पत्ता लगाउन सात महिना लागेको थियो ।
कम्पनीले यो गल्ती थाहा पाउने बेलासम्ममा रकम प्राप्त गर्ने ‘थेभामानोगारी म्यानिभेल’ नामी महिलाले केही रकम खर्च पनि गरिसकेकी थिइन् । उनले प्राप्त रकम आफ्नो र आफ्नो परिवारका सदस्यहरूका बैंक खातामा पठाउन पनि भ्याएकी थिइन् ।
यो अवधिमा उनले आफ्नी बहिनीका लागि जिम र होम थिएटर सहितको घर पनि खरिद गरेर दिएकी थिइन् ।
आफ्नो रकम फिर्ता पाउनको लागि कम्पनीले उनीविरुद्ध मुद्दा हाल्याे, तर दुवै दिदीबहिनीले अदालतको छानबिनमा कुनै प्रतिक्रिया दिएनन् ।
गत शुक्रबार, अष्ट्रेलियाको भिक्टोरियन अदालतले ती महिला र उनकी बहिनीलाई घर छोड्न र प्राप्त रकम फिर्ता गर्न आदेश दिएकाे थियाे ।
अदालतले म्यानिभेलकी बहिनीलाई २७ हजार ३६९ अष्ट्रेलियन डलर ब्याजसहित घरको रकम १० लाख ३५ हजार अष्ट्रेलियन डलर फिर्ता गर्न आदेश दिएको छ ।
यो वर्षको सुरुमा, आफ्नो गल्ती पत्ता लगाएपछि, क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनी म्यानिभेलको बैंक खाता र रकम पठाइएका खाता रोक्का गर्न सफल भएकाे छ ।
द गार्डियनमा प्रकाशित समाचार अनुसार म्यानिभेलका वकिलले प्राप्त रकमको रसिद पुष्टि गर्न एक पटक मात्र प्रतिक्रिया दिएका थिए । यसपछि भने उनीहरूले कुनै प्रतिक्रिया नै दिएको छैनन् भने अदालतमा पनि उपस्थित भएका छैनन् ।
आउँदो अक्टोबरमा पुन: मुद्दाको सुनुवाइ हुने बताइएको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
