close

गणित र कम्प्युटर विज्ञानको मिश्रित कोर्षः बीएससी ईन कम्प्युटेसनल म्याथमेटिक्स

टेकपाना टेकपाना

भदौ १८, २०७९ १७:९

गणित र कम्प्युटर विज्ञानको मिश्रित कोर्षः बीएससी ईन कम्प्युटेसनल म्याथमेटिक्स

काठमाडाैँ । कक्षा १२ को परीक्षाफल प्रकाशित भएसँगै उत्तीर्ण विद्यार्थी स्नातक तह अध्ययन गर्ने सुरसारमा छन् । यसका लागि विभिन्न स्वदेशी तथा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम विकल्पका रूपमा छन् ।

यसैबीच आज हामीले काठमाडौं विश्वविद्यालय (केयू)ले सञ्चालनमा ल्याएको बीएससी ईन कम्प्युटेसनल म्याथमेटिक्स कार्यक्रमबारे जानकारी दिँदै छौं ।

सन् २०१७ देखि केयूले दक्षिण एसियामै पहिलाे पटक याे काेर्ष अध्यापन गराउन थालेकाे हाे । यो एउटै काेर्षले तपाईँको आईटी, गणित, विज्ञान र इन्जिनियरिङ सबै विषय पढ्ने धोको पूरा गर्नसक्छ ।

याे कस्तो कोर्ष हो ?

सरल रूपमा बुझ्दा याे याे गणित र कम्प्युटर विज्ञानकाे मिश्रित काेर्ष हाे । प्राय कलेजमा कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ अथवा गणितका लागि छुट्टाछुट्टै विषय पढ्नुपर्छ ।

तर यी सबैकाे ज्ञान भएकाे जनशक्तिकाे माग पनि बजारमा भइरहेकाे हुन्छ । कम्प्युटरकाे ज्ञान छ, तर गणितकाे छैन भने यसल‍े काममा कतै न कतै असर पार्दछ ।

यही समस्यालाई समाधान गर्नेगरी केयूले काेर्ष ल्याएकाे हाे ।

के के हुन्छ पढाइ ?

याे १४३ क्रेडिट आवरकाे चार वर्षे (८ सेमेस्टर) काेर्ष हाे, जुन काभ्रे धुलिखेलाम मात्रै पढाइ हुन्छ ।

“याे अन्तर्राष्ट्रिय स्तरकाे एक ब्लेन्डेड (मिश्रित) काेर्ष हाे । गणितमा कम्प्युटेसनल थपेर बनाइएकाे काेर्ष हाे,” काेर्षबारे जानकारी दिँदै काठमाडाैं विश्वविद्यालयकाे डिपार्टमेन्ट अफ म्याथमेटिक्सका सहप्राध्यापक डा. रविन्द्र कायस्थ थप भन्छन्, “यस काेर्षमा स्टाटिस्टिक्स हुन्छ । सफ्टवेयर र कम्प्युटर साइन्सका विषय छन् । सबैभन्दा छाेटाे तरिकाबाट विश्वका जटिल समस्याहरु समाधान गर्नका लागि हामीले याे काेर्ष डिजाइन गरेका हाैं ।”

यस काेर्षकाे पाठ्यक्रम संरचना अनुसार फण्डामेन्टल १२, म्याथम्याटिक्स ४०, कम्प्युटर २५ प्रतिशत पढ्नुपर्छ । त्यसैगरी इन्जिनियरिङ ११, इलेक्टिभ २ र प्राेजेक्ट वर्ककाे विषय १० प्रतिशत समावेश गरिएकाे छ ।

काेर्ष पढिसकेपछिकाे भविष्य

यस काेर्षकाे अध्ययनपछि तपाईं आईटी अथवा सफ्टवेयर उद्याेगसँगै वित्तीय क्षेत्रमा काम गर्न सक्नुहुन्छ । डेटा वैज्ञानिक बन्न सक्नुहुन्छ ।

तपाईंलाई गणित अथवा आईटीका विषयमा उच्च शिक्षा लिन सहज हुनका साथै विभिन्न शैक्षिक संस्थाहरुमा काम गर्न सक्नुहुन्छ ।

केयूले याे काेर्षकाे पहिलाे ब्याच उत्पादनसमेत समेत गरेकाे छ ।

डा. कायस्थका अनुसार पहिलाे ब्याचका अधिकांश विद्यार्थीहरु अहिले आईटी क्षेत्रमा कार्यरत छन् भने एक जना गणितमा उच्च शिक्षा हासिल गर्न विदेश जाने प्रक्रियामा छन् ।

शुल्क र छात्रवृत्ति

याे काेर्ष गर्न जम्माजम्मी आठ लाख २० हजार रुपैयाँ  लाग्दछ । केयूले विभिन्न प्रकारका छात्रवृत्तिसमेत उपलब्ध गराउँदै आएकाे छ । जसमा प्रत्येक सेमेस्टरमा मेरिटका आधारमा एक जनाले छात्रवृत्ति पाउँछन् ।

साथै ‘लाेन स्कलरशिप’ कार्यक्रम पनि छ । केयूमा यही पटकबाट सीमान्तकृत वर्गका महिलालाई राममान श्रेष्ठ मेमाेरियल फण्डले छात्रवृत्ति उपलब्ध गराउने भएकाे छ । 

काेटा र भर्ना

केयूले याे विषयका लागि मात्र ३० जना विद्यार्थीलाई मात्रै भर्ना लिन्छ । त्यसमा पनि १० प्रतिशत विदेशी विद्यार्थीका लागि काेटा छुट्ट्याइएकाे छ ।

सन् २०२२ का लागि केयूले भर्नाकाे आवेदन खुलाइसकेकाे छ ।

तपाईं इच्छुक हुनुहुन्छ भने प्रवेश परीक्षाका लागि यहाँ क्लिक गरी आवेदन दिनुहाेस् ।

भर्नाका लागि याेग्यता

यस काेर्षमा भर्ना गर्नका लागि तपाईंले एग्रिग्रेडमा सी ग्रेड र भाैतिक विज्ञान (फिजिक्स), गणित र कम्प्युटर विषयमा कम्तीमा पनि ‘सी’ ग्रेड ल्याएकाे हुनुपर्छ ।

ए लेभल, एनईबी, सिबीएससी (भारत) जे पढे पनि विज्ञान विषय पढेकाले मात्रै याे काेर्ष गर्न पाउँछन् । 

बीए म्याथ भन्दा के फरक छ ?

बीए म्याथ मानविकी अन्तर्गत पर्दछ । बीएस सी इन कम्प्युटेस्नल म्याथमेटिक्स भने उच्च मावि तहमा विज्ञान लिएर पढेका विद्यार्थी पढ्छन् ।

डा. कायस्थ यसबारे प्रष्ट पार्छन्, “बीए म्याथ सैद्धान्तिकमा केन्द्रित हुन्छ भने बीएससी कम्प्युटेस्नल म्याथमेटिक्स सैद्धान्तिक, व्यावहारिक र इन्टर्नमा केन्द्रित हुन्छ ।”

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३