काठमाडौं । स्मार्टफोन कम्पनीहरूले प्रयोगकर्तालाई पाँच वर्षको सेक्युरिटी र तीन वर्षको ओएस अपडेट उपलब्ध गराउनुपर्ने भएको छ । नयाँ कानूनी व्यवस्था अघि सार्दै युरोपियन कमिसनले यसको तयारी गरेको हो ।
आयोगले अघि बढाएको नयाँ नीतिगत व्यवस्था अनुसार स्मार्टफोन निर्माता कम्पनीहरूले कुनै पनि स्मार्टफोनमा सेक्युरिटी अपडेट पाँच वर्ष र ओएस अपडेट तीन वर्षसम्म उपलब्ध गराउनु पर्नेछ ।
हाल गुगल र सामसङले मात्रै आफ्नो स्मार्टफोनमा पाँच वर्षको सेक्युरिटी अपडेट र तीन वर्षसम्म ओएस अपडेट उपलब्ध गराउँदै आएका छन् ।
त्योभन्दा बाहेकका ब्राण्डले तीन वर्षको सेक्युरिटी अपडेट र दुई वर्षसम्मको ओएस अपडेट उपलब्ध गराउँदै आएका छन् । तर, त्यसमा परिमार्जन गर्दै युराेपेली युनियनले आफ्ना मातहतमा उपलब्ध हुने सबै स्मार्टफोनमा सेक्युरिटी र ओएस अपडेटको समय अवधि समान बनाउने तयारी गरेको हो ।
विषेशगरी बढ्दो विद्युतीय फोहोरलाई व्यवस्थापन गर्ने उद्देश्यका साथ ईयुले यो प्रावधान अघि बढाएको जनाइएको छ ।
स्मार्टफोनमा उपलब्ध हुने ओएस र सेक्युरिटी अपडेट कम हुँदा छोटो समयमै नयाँ स्मार्टफोन खरिद गर्ने र पुराना उपकरणले विद्युतीय फोहोर बढ्दै गएको छ ।
त्यसलाई नियन्त्रण गर्नका लागि सेक्युरिटी अपडेट र ओएस अपडेटको समय अवधि थप गर्ने तयारी गरिएको उल्लेख छ ।
अर्कोतर्फ ईयुले कुनै पनि स्मार्टफोन मर्मतका लागि आवश्यक पर्ने १५ प्रकारका पार्टपुर्जा समेत पाँच वर्षसम्म उपलब्ध गराउनुपर्ने प्रावधान राखेको जनाइएको छ ।