close

सामाजिक सञ्जालका ट्रोल र गालीगलौचले मानसिक तनावमा परेँः गायिका समीक्षा अधिकारी

टेकपाना टेकपाना

भदौ २९, २०७९ १०:२१

सामाजिक सञ्जालका ट्रोल र गालीगलौचले मानसिक तनावमा परेँः गायिका समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा आफ्नो बनाइएका ट्रोल र पोस्टमा आउने नकारात्मक कमेन्टले मानसिक तनाव दिएको बताएकी छिन् । मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट गर्दै अधिकारीले सामाजिक सञ्जाल सम्बन्धी आफ्नो नमिठो अनुभव साझा गरेकी हुन् ।

“सामाजिक सञ्जालमा मेरा विरुद्ध बनेका लज्जास्पद तस्वीर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकारात्मक असर पारेको छ । कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियाली दिनुहोला,” गायिका अधिकारीले भनेकी छिन् । नायक पल शाहबाट आफू बलात्कृत भएको भन्दै उनले प्रहरीमा उजुरी दिएसँगै गायिका अधिकारी विरुद्ध सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी सुरु भएको थियो ।

उक्त मुद्दामा नवलपुर जिल्ला अदालतले यौन दुरुपयोग गरेको ठहर गर्दै शाह विरुद्ध जेल सजाय र क्षतिपूर्तिको सजाय सुनाइसकेको छ । यद्यपि तनहुँ जिल्ला अदालतमा चलिरहेको सोही प्रकृतिको मुद्दा विचाराधीन अवस्थामा छ ।

त्यसो त सामाजिक सञ्जालमा ट्रोल तथा मिमको सिकार बनिरहने कलाकारको भीडमा गायिका अधिकारी एक्ली होइनन् । विभिन्न समयमा दिएका अन्तरवार्ताले होस् वा कसैप्रति दिएका अभिव्यक्तिले होस्, कलाकारहरू समय समयमा विवादित बनिरहन्छन् ।

त्यसपछि कुनै पनि विषयमा विवादित बनेका कलाकारलाई उनीहरूको सामाजिक सञ्जालका अकाउन्टमा नकारात्मक कमेन्टको ओइरो लाग्न थाल्छ । केही दिनअघि नायिका पूजा शर्मा पनि सामाजिक सञ्जालमा आफू विरुद्ध गालीगलौज तथा ट्रोलका कारण सामाजिक सञ्जालबाटै बाहिरिएकी छिन् ।

त्यसो त सामाजिक सञ्जालमा टिकाटिप्पणी गरेकै भरमा कसैलाई कारबाही गरिहाल्ने स्थिति नरहेको नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायको भनाई छ । उनी भन्छन्, “यदि कसैले कानूनमा गर्न नहुने भनी उल्लेख गरिएका गतिविधि गरेको छ भने मुद्दा चलाएको खण्डमा उसलाई कारबाही हुन्छ । यदि पीडितलाई उक्त प्रतिक्रियाले समस्यामा पारेको छ वा प्रतिक्रिया दिनेको उद्देश्य आपराधिक गतिविधिसँग सम्बन्धित छ भने मुद्दा हाल्न सकिन्छ ।” 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४