close

फन पार्कमा खेलिरहँदा समेत आईफोन १४ बाट स्वतः 'क्य्राश डिटेक्टसन'को इमेर्जेन्सी कल जाने समस्या

टेकपाना टेकपाना

असोज २४, २०७९ १७:५

फन पार्कमा खेलिरहँदा समेत आईफोन १४ बाट स्वतः 'क्य्राश डिटेक्टसन'को इमेर्जेन्सी कल जाने समस्या

काठमाडौं । एप्पलको आईफोन १४ सिरिजमा सबैभन्दा बढी चर्चामा आएको फिचर मध्ये एक हो ‘क्य्राश डिटेक्सन’ अर्थात दुर्घटना भएको पत्ता लगाउने फिचर । यसले विशेषगरी प्रयोगकर्ता दुर्घटनामा परेको अवस्थामा त्यसलाई पहिचान गरी आपतकालीन नम्बरमा कल गरेर सम्बन्धित निकायलाई उक्त घटनाबारे जानकारी दिन्छ । तर अहिले त्यसको प्रतिकूल असर बढी देखिन थालेको छ ।

द वाल स्ट्रिट जर्नलमा प्रकाशित रिपोर्ट अनुसार विभिन्न पर्वका अवसरमा फन पार्कमा राखिएका रोटेपिङ वा रोलरकोस्टरमा चढेका व्यक्तिको फोनबाट बारम्बार ‘क्य्राश डिटेक्ट’ भएको भन्दै कल गएको छ । एप्पलले आईफोन १४, वाच सिरिज ८, आईफोन एसई र अल्ट्रामा गत महिना ‘क्य्राश डिटेक्टसन’ फिचर सार्वजनिक गरेको थियो ।

कुनै पनि किसिमका सवारी दुर्घटना हुँदा प्रयोगकर्तालाई आपतकालीन सेवा उपलब्ध गराउन सहज हुने भन्दै कम्पनीले यो फिचर ल्याएको थियो । यसमा जाइरोस्कोप सेन्सर र ‘हाई-जी’ एक्सेलेरोमिटरले दुर्घटना भएको पहिचान गर्छन् ।

सेन्सरले दुर्घटना भएको पहिचान गरेको खण्डमा आईफोनको डिस्प्लेमा एउटा अलर्ट देखिन्छ । जसमा आफू दुर्घटनामा परेको हो वा होइन भन्ने कुराको जानकारी दिनुपर्ने हुन्छ । यदि २० सेकेन्डसम्म प्रयोगकर्ताले कुनै प्रतिक्रिया नदिएको खण्डमा आईफोनले स्वतः इमर्जेन्सी नम्बरमा कल लगाउँछ ।

दुर्घटनामा परेपछि आईफोनबाट सम्बन्धित निकायमा कल जान्छ । जहाँ दुर्घटना भएको अडियो मेसेज बज्न थाल्छ । उक्त अडियो मेसेजमा दुर्घटना भएको क्षेत्रको ल्याटिट्युड र लङ्गिच्युट विवरण उपलब्ध गराइएको हुन्छ । त्यसैको आधारमा उद्धारकर्ताले उद्धारमा खटिन्छन् ।

यही फिचर गलत समयमा उपयोग हुँदा थुप्रै प्रयोगकर्ताले दुःख पाएका हुन् । द वाल स्ट्रिटकी पत्रकार जोआन्ना स्टर्नले ट्वीट गरेको पोस्टमा लगातार ‘क्य्राश डिटेक्ट’ भएको मेसेज गइरहेको देखिन्छ ।

ब्याकग्राउन्डमा सुनिने रोलरकोस्टरको आवाजले सो आईफोन प्रयोगकर्ता दुर्घटना भएको होइन भन्ने कुरा यकिन गर्न सकिन्छ । वास्तवमा उनले ट्वीट गरेको भिडिओमा प्रयोगकर्ता सिनसिनाटीको किङ्ग्स आइल्याण्ड एम्युजमेन्ट पार्कमा रोलरकोस्टरमा रमाइरहेका हुन्छन् ।

उनीसँग भएको आईफोन १४ ले बारम्बार ‘क्य्राश डिटेक्ट’को अलार्म पठाइरहेको देखिन्छ । उक्त थिम पार्कको मात्र नभई अन्य विभिन्न ठाउँबाट पनि यस्ता गलत इमेर्जेन्सी कल आइरहेको पाइएको छ ।

प्रयोगकर्ता रोलरकोस्टरमा हुँदा आईफोनमा त्यति केन्द्रित नहुने भएकाले कल क्यान्सिलको विकल्पले समेत काम नगरेको द वाल स्ट्रिटमा उल्लेख छ ।​ एप्पलका प्रवक्ताले यो फिचर सुरुवाती चरणमा रहेकाले केही कमजोरी हुनसक्ने र कम्पनी लगातार यसको सुधारमा केन्द्रित भएको बताएका छन् ।

 

पछिल्लो अध्यावधिक: असोज २४, २०७९ १८:८