close

इन्टरनेटमा नेपालबाट पहिलो तस्वीर अपलोड गर्न लागेको थियो १४ घण्टाको समय !

टेकपाना टेकपाना

असोज २५, २०७९ ९:१४

इन्टरनेटमा नेपालबाट पहिलो तस्वीर अपलोड गर्न लागेको थियो १४ घण्टाको समय !

काठमाडौं । रोचक कुरा के छ भने नेपालबाट इन्टरनेटमा अपलोड भएको पहिलो तस्वीर गणेश ‘भगवान’को थियो । जेफ ग्रिनवाल्ड नाम गरेका एक अमेरिकी पत्रकारले उक्त तस्वीर इन्टरनेटमा राखेका थिए । 

इन्टरनेटका लागि लोकप्रिय म्यागेजिन वायर्डको अनलाइन न्युजपोर्टलका लागि उनले तत्कालीन समयमा मर्कन्टाइल र यसको ईमेल तथा इन्टरनेट सेवाको विषयमा एउटा समाचार समेत लेखेका थिए । 

नेपालको सुरुवाती इन्टरनेट लिङ्क जम्मा ४.८ केबीको मात्र रहेकाले त्यसमार्फत तस्वीर पठाउनु निकै चुनौतिपूर्ण थियो । 

एक एमबी आकारको उक्त पीएनजी तस्वीर अपलोड गर्न सञ्जीव राजभण्डारीका प्राविधिकलाई १४ घण्टा समय लागेको सन्दर्भ वायर्डमा प्रकाशित एक लेखमा ग्रिनवाल्डले उल्लेख गरेका छन् । राजभण्डारी नै नेपालमा पहिलो पटक इन्टरनेट भित्र्याउने व्यक्ति हुन् ।

पछि त्यसलाई जेपीईजी फर्म्याटमा ४० केबीको सानो आकारमा रूपान्तरण गरेपछि छिटो अपलोड भएको राजभण्डारी सम्झिन्छन् । यसरी सन् १९९५ मा इन्टरनेटमा नेपालबाट पहिलो तस्वीर अपलोड भयो, जुन ईमेलमार्फत अमेरिका स्थित वायर्डलाई पठाइएको थियो । 

स्काइप आउनुभन्दा अगाडि सन् १९९७/९८ तिर भोकलटेक नामक कम्पनी थियो । पछि इन्टेलले त्यसलाई खरिद गर्‍यो । उक्त प्लेटफर्मबाट कल समेत गर्न सकिन्थ्यो । फोन कल निकै महँगो रहेको त्यो बेला इन्टरनेटबाटै अडिओ कल सम्भव भयो । तर भिडिओ कल भने सन् २००५ मा स्काइपको २.० बेटा भर्सन आएपछि मात्रै सुरु भएको हो ।

पछिल्लो अध्यावधिक: असोज २५, २०७९ ९:१८