close

आफूले बनाएको चित्रलाई एनिमेसनमा रुपान्तरण गर्न चाहनुहुन्छ ? यस्तो छ सजिलो तरिका

टेकपाना टेकपाना

असोज ३१, २०७९ ११:२५

आफूले बनाएको चित्रलाई एनिमेसनमा रुपान्तरण गर्न चाहनुहुन्छ ? यस्तो छ सजिलो तरिका

काठमाडौं । चित्रकला नरुचाउने मान्छे संसारमा विरलै भेँटिएलान् । कोही रहरले सामान्य चित्र बनाउँछन् भने कोही व्यावसायिक तरिकाले आकर्षक चित्र बनाउँछन् । चित्र बनाउन आएर होस् वा नआएर, कुनै रहरले गर्दा हामीले पनि कहिलेकाहीँ सानो प्रयास गरेका हुन्छौं ।

विशेषगरी बालबालिका चित्र बनाउन बढी रुचाउँछन् । बालबालिकाको रुचि चित्रकलातर्फ बढाउन सकियो भने उनीहरूको रचनात्मक क्षमता बढ्दै जान्छ । मोबाइल फोन तथा इन्टरनेटको सदुपयोग गरेर बालबालिकालाई चित्रकलातर्फ रुचि बढाउनसक्ने उपयुक्त तरिकाको बारेमा यहाँ हामी जानकारी दिँदैछौँ ।

कतिपय अवस्थामा हामीले तयार पारेको चित्रको एनिमेसन भर्सन (चित्र चलेको) आवश्यक पर्न सक्छ । आफूले कापीमा तयार पारेको चित्र भिडिओमा नाचेको, उफ्रेको वा हिँडेको देख्दा बालबालिकालाई त्यसतर्फ बढी रुचि जाग्ने गर्छ ।

इन्टरनेटमा फिल्म वा सिरिज हेर्न लत लागेका बालबालिकालाई पनि यो माध्यमले पढाइ तथा अतिरिक्त क्रियाकलापतर्फ आकर्षित गर्नसक्छ । त्यस्तै शिक्षक शिक्षिकाले पनि आफ्ना विद्यालयका बालबालिकालाई एनिमेसनबाट केही कुरा बुझाउनुपर्‍यो भने यो विधि प्रयोग गर्न सक्छन् ।

आज हामी त्यस्तो साइटको बारेमा जानकारी दिँदैछौँ, जसका माध्यमबाट हामीले कापीमा बनाएको चित्र भिडिओमा नाचेको, हिँडेको, उफ्रेको, खेलेको वा अन्य विविध क्रियाकलाप गरिरहेको बनाउन सक्छौँ, जसलाई अङ्ग्रेजीमा एनिमेटेड भिडिओ भन्ने गरिन्छ ।

त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

  • सबैभन्दा पहिले एउटा कापीमा चित्र बनाउनुहोस् । (सफ्टवेयर तथा एपको प्रयोग गरेर वा कम्प्युटरको पेन्ट टुलबाट पनि बनाउन सकिन्छ ।)

  • कापीमा चित्र बनाउनुभएको छ भने त्यसको फोटो खिच्नुहोस् ।

  • त्यसपछि आफूले एनिमेसन बनाउन चाहेको डिभाइसमा उक्त चित्र अपलोड गर्नुहोस् ।

  • त्यसपछि यहाँ क्लिक गर्नुहोस् ।

  • त्यहाँ 'अपलोड फोटो'अप्सनमा क्लिक गर्नुहोस् ।

  • ग्यालरी वा फाइल मेनेजरमा रहेको चित्र छानिसकेपछि तल रहेको 'नेक्स्ट' अप्सनमा क्लिक गर्नुहोस् ।

  • त्यसपछि त्यहाँ  नियम तथा सर्त लेखिएको पेज आउँछ । त्यसमा रहेको 'अग्री' (Agree) अप्सनमा क्लिक गर्नुहोस् ।

  • त्यसपछि त्यहाँ देखाइएको निलो बक्सभित्र आफुले कोरेको चित्र अपलोड गर्नुहोस् ।

  • त्यसपछि पुनः नेक्स्टमा क्लिक गर्नुहोस् ।

  • त्यसपछि नयाँ पेज खुल्छ, जहाँ उक्त चित्रमा भएका कमी कमजोरी हटाउन वा केही लाइनहरू थप्न सकिन्छ । विशेषगरी लाइन भएको कापीमा चित्र बनाएको छ भने त्यसमा देखिएका अनावश्यक लाइनहरू हटाउनु पर्नेहुन्छ ।

  • हटाउने वा केही लाइन जोड्ने काम सकिएपछि फेरि 'नेक्स्ट' अप्सनमा क्लिक गर्नुहोस् ।

  • त्यसपछि लाइन देखाएर शरीरका विभिन्न भागमा चिन्ह बनाइएको हुन्छ । यो आर्टिफिसियल इन्टेलिजेन्स बनाउने भएकाले कतिपय अवस्थामा आँखा, कान, नाक, हात वा खुट्टा नमिलेको हुनसक्छ । त्यहाँ भएका लाइनलाई सारेर आफूले अंकित गर्न चाहेको अंग मिलाउन सकिन्छ ।

  • त्यसपछि 'नेक्स्ट'मा क्लिक गर्नुहोस् । त्यसपछि आफूले चाहेको एनिमेसन छान्नुहोस् ।

  • एनिमेसन छानिसकेपछि भिडिओका रूपमा डाउनलोड गर्नुपर्ने हुन्छ ।

  • त्यसका लागि त्यो एनिमेसनको तल दायाँपट्टि चार ओटा तीरको चिन्हमा क्लिक गर्नुहोस् ।

  • त्यसपछि तल दायाँपट्टि रहेको तीन ओटा डटमा क्लिक गर्नुहोस् ।

  • त्यहाँ डाउनलोडको विकल्प रहेको हुन्छ ।

  • त्यसमा क्लिक गरेर एनिमेसन भिडिओ डाउनलोड गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज ३१, २०७९ १२:५०