close

हाम्रोपात्रो एप १३औं वर्षमा प्रवेश, डिजिटल वालेट 'हाम्रो पे' सार्वजनिक गर्ने तयारी

टेकपाना टेकपाना

कात्तिक ३, २०७९ १२:२६

हाम्रोपात्रो एप १३औं वर्षमा प्रवेश, डिजिटल वालेट 'हाम्रो पे' सार्वजनिक गर्ने तयारी

काठमाडौं । हाम्रोपात्रो एप १२औं वर्ष पूरा गरी १३औं वर्षमा प्रवेश गरेको छ । सन् २०१० मा एउटा डिजिटल पात्रोका रूपमा आएको हाम्रोपात्रो नेपालकै सर्वाधिक डाउनलोड हुने मोबाइल एप हो ।

पहिलो पटक आईओएसमा रिलिज गरिएको एप पछि सन् २०१२ मा एन्ड्रोइडमा रिलिज भएको थियो । हाल यो एपमा तिथि मिति, समाचार, विदेशी विनिमय दर, तरकारीको भाउदेखि टेली हेल्थ, अनलाइन ज्योतिष अनि जन्म कुण्डली मिलान , रेमिटेन्स लगायतका सुविधा छन् ।

सन् २०१५ मा १० लाख भन्दा बढी डाउनलोड सीमा नाघेको हाम्रोपात्रोले त्यसै वर्षदेखि नेपालमा कार्यालय खोलेर आफ्नो उपस्थिति र प्रभावलाई झनै सशक्त बनाउन थालेको थियो । सन् २०१८ मा ५ मिलियन अर्थात् ५० लाख डाउनलोडको सीमा नाघ्दै हाम्रोपात्रोले ज्योतिष कल सेवा पनि सुरुवात गर्यो ।

१२औं बार्षिकउत्सव अवसरमा हाम्रो पात्रो इंकका संस्थापक एवं सीईओ शंकर उप्रेतीले प्रयोगकर्तालाई धन्यवाद व्यक्त गरेका छन् ।

‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ,’ म सबै प्रयोगकर्ताहरूलाई उहाँहरूको विश्वासको लागि आभार व्यक्त गर्दछु । यी डाउनलोडका सङ्ख्याहरू हाम्रा लागि विश्वास र सहयात्री हुन् । हामी थप जिम्मेवार र विश्वासिलो बन्ने प्रणका साथै अघि बढ्दै गयौँ र हाम्रोपात्रोको १२औँ वर्षसम्म यस यात्रामा हामी यहाँहरू सबै जनालाई हार्दिक साधुवाद र अझै सयौँ वर्षसम्म डिजिटल र अर्थपूर्ण सहयात्रा गर्ने वाचा गर्न चाहन्छौँ । सम्पूर्ण प्रयोगकर्ताहरू, विज्ञापनदाता, साझेदार र सहकर्मीहरूमा हार्दिक नमन,'' उनले भने ।

सन् २०१९ मा हाम्रोपात्रोबाटै मोबाइल रिचार्ज सेवा पनि प्रदान गर्न थालियो । सन् २०२० मा ई-कमर्स पनि जोड्दै हाम्रो पात्रोले सन् २०२१ मा रेमिटेन्स र टेली हेल्थ सुविधा पनि थप्यो । यसैबीच १३औं वर्षमा प्रवेशसँगै डिजिटल वालेट 'हाम्रो पे' औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०७९ १२:५५