close

तपाईँको फेसबुक अकाउन्ट कतै ह्याक भएको त छैन ? यस्तो छ थाहा पाउने तरिका

टेकपाना टेकपाना

कात्तिक ३, २०७९ १७:३७

तपाईँको फेसबुक अकाउन्ट कतै ह्याक भएको त छैन ? यस्तो छ थाहा पाउने तरिका

काठमाडौं । सामाजिक सञ्जालको दुनियाँमा ह्याकिङ शब्द नौलो होइन । ह्याकरले विभिन्न प्रयोजनका लागि प्रयोगकर्ताको फेसबुक अकाउन्ट पहुँचमा लिन्छन् । फेसबुक पेजको सन्दर्भमा भने ह्याकरले प्राय प्रयोगकर्तालाई विज्ञापनको लोभ देखाउने गरेकाे पाइन्छ ।

यदि तपाईँको फेसबुक पेजमा राम्रो 'रिच' छ भने ह्याकरको निशाना यस्ताे पेजमा रहन्छ । भरपर्दो अडियन्स तथा भिजिटर जुनसुकै पेजमा नहुने भएकाले भिजिटर राम्रो भएका पेजहरू ह्याकरको नजरमा पर्छन् । त्यसैले यस्ता आश्वासनबाट बच्नुपर्छ ।

ह्याकरहरूले फेसबुक पेजमा विज्ञापन राखेबापत ठूलो रकम दिने आश्वासन दिन्छ, जसका लागि तपाईँले पेजमा उनीहरूलाई एड्मिन वा अन्य एक्सेस दिनुपर्ने हुन्छ । त्यसपछि उनीहरूले तपाईँलाई हटाएर पेज आफ्नो हातमा लिन्छन् ।

यसमा बिजनेस अनर भन्ने कुरा मुख्य हुन्छ । यदि उक्त पेजको बिजनेस अनरमा ह्याकरले एक्सेस पाएको छैन भने पेज फिर्ता ल्याउन सक्नुहुन्छ । त्यस्तै कतिपय अवस्थामा पेजको एडिटर वा मोडेरेटरको एक्सेस पाएर उनीहरूले फेसबुकको नीति उलङ्घन गर्छन्, जसले गर्दा फेसबुकको रिच घट्छ वा कतिपय अवस्थामा पेज नै बन्द हुन्छ ।

भरसक अपरिचित व्यक्तिलाई पेजको एक्सेस नदिनुहोस् । यदि दिनैपरे सबै कुरा पुष्टि नगर्नुहोस् । रिपोर्ट गर्नुपर्‍यो भने यहाँ क्लिक गरेर बुझ्न सकिन्छ ।

आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मेटाको सहकार्यमा पत्रकार तालिम सञ्चालन गरेको थियो । उक्त तालिममा बोल्दै फेसबुककी सेफ्टी पोलिसी मेनेजर मलिना एनलुन्डले फेसबुक अकाउन्ट ह्याक हुँदा सहजै रिपोर्ट गर्न सकिने बताइन् ।

साथै रिपोर्ट गरेका कुराहरूको अध्ययन हुने र प्रतिक्रिया जनाइने उनकाे भनाइ थियाे । चुनावको बेला फेसबुक अकाउन्ट तथा पेज ह्याक हुने जोखिम उच्च भएकाले त्यस्तो बेला सचेत रहन उनले सुझाव दिइन् ।

यदि तपाईँको फेसबुक पेज वा अकाउन्टमा अस्वाभाविक सामग्री पोस्ट भएका छन् भने ह्याक भएको हुनसक्छ । त्यस्तो अवस्थामा रिपोर्ट गर्न यहाँ क्लिक गर्नुहोस् । त्यसपछि तपाईँलाई अकाउन्ट किन ह्याक भएको जस्तो लाग्यो भन्ने कुरा उल्लेख गर्नुहोस् ।

त्यसपछि उक्त आईडी ह्याक भए नभएको जानकारी पाइन्छ । फेसबुक अकाउन्टलाई सुरक्षित राख्न समय-समयमा सेक्युरिटी चेकअप गरिरहन एनलुन्डले जोड दिइन् । त्यसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०७९ १७:३८