काठमाडौं । गुगल क्रोमलाई सबैभन्दा लोकप्रिय वेब ब्राउजर मानिन्छ । तर, गुगलले आगामी वर्षको सुरुवातमा लाखौं विन्डोज प्रयोगकर्ताका लागि क्रोम बन्द गर्ने घोषणा गरेको छ ।
एक ब्लगपोस्ट सार्वजनिक गर्दै गुगलले यसबारे जानकारी दिएकाे हाे । "हामी विन्डोज ७, विन्डोज ८ र विन्डोज ८.१ का लागि क्रोम सपोर्ट बन्द गर्ने निर्णय गरेका छौँ । फेब्रुअरी सातमा सार्वजनिक हुने क्रोम ११० यी भर्सनका विन्डोजमा सपोर्ट हुने अन्तिम क्रोम भर्सन हुनेछ । क्रोम सपोर्ट हुनका लागि तपाईँको डिभाइस विन्डोज १० वा त्यसपछिका अपरेटिङ सिस्टममा आधारित हुनुपर्नेछ ।"
यसको अर्थ विन्डोज ७, ८ वा ८.१ अपरेटिङ सिस्टम प्रयोग गरिरहेका प्रयोगकर्ताले क्रोम ११० भन्दा पछिको अपडेट पाउने छैनन् । नयाँ अपडेटसहितको क्रोम प्रयोग गर्न प्रयोगकर्ता नयाँ अपरेटिङ सिस्टममा शिफ्ट हुनुपर्नेछ ।
माइक्रोसफ्टले विन्डोज ७ का लागि सेक्युरिटी अपेडट सपोर्ट बन्द गर्न निर्णय गरेसँगै गुगलले पनि ती अपरेटिङ सिस्टमका लागि क्रोम सपोर्ट बन्द गर्ने निर्णय गरेको हो ।
स्टाकाउन्टरका अनुसार विन्डोजका १३ प्रतिशत प्रयोगकर्ताले अझै पनि विन्डोज ७, ८ र ८.१ भर्सनका विन्डोज प्रयोग गरिरहेका छन् । यसबाट लाखौँ प्रयोगकर्ता प्रभावित हुने देखिन्छ ।
तपाईँले नयाँ अपडेट सहितको क्रोम प्रयोग गर्नका लागि विन्डोज १० वा त्यसभन्दा माथिका अपरेटिङ सिस्टममा शिफ्ट हुनुपर्नेछ ।