close

अनलाइन गेम खेलेर यसरी कमाउन सकिन्छ पैसा

टेकपाना टेकपाना

कात्तिक १६, २०७९ ८:३९

अनलाइन गेम खेलेर यसरी कमाउन सकिन्छ पैसा

काठमाडौं । भिडिओ गेम खेलेर पनि पैसा कमाउन सकिन्छ भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ । अहिले गेमिङको विश्वबजार एकदमै ठूलो बनिसकेको छ । लाखौँ खेलाडी तथा हजारौँ गेमसँग सम्बन्धित कम्पनी यो क्षेत्रमा लागिरहेका छन् ।

तपाईँका लागि पनि याे क्षेत्र कमाउने राम्राे विकल्प बन्नसक्छ । आज हामी यस्तै केही उपायबारे कुरा गर्न गइरहेका छौं, जसमा तपाईँले गेमबाट नै पैसा कमाउन सक्नुहुनेछ ।

१. स्ट्रिमिङ

गेमिङबाट पैसा कमाउने सहज माध्यममध्ये एक हो, स्ट्रिमिङ । यदि तपाईँ राम्रो वा प्रो गेमर हुनुहुन्छ भने युट्युब, फेसबुकमा गेम लाइभ गरेर पनि पैसा कमाउन सक्नुहुनेछ । हुन त यो तरिका त्यति सहज त छैन, किनकि सुरु सुरुमा लाइभ हेर्ने दर्शक कम नै हुन्छन् । तर तपाईँले राम्रो खेल्नुहुन्छ भने विस्तारै दर्शकको संख्या बढ्दै जान्छ ।

दर्शकको संख्या बढ्नु भनेको आम्दानी अनि तपाईँको प्रसिद्धि पनि बढ्नु हो । अहिले स्ट्रिमरहरुले राम्रै कमाइ गरिरहेका छन् । नेपालकै गेमरले पनि अहिले पब्जी, फ्रीफायर जस्ता गेमको स्ट्रिम गरेर महिनामै लाखौँ कमाइरहेका छन् ।

२. गेम प्ले वा भिडिओ टिप्स

गेम खेलेर कमाउने अर्को माध्यम भनेको टिप्स, ट्रिक भिडिओ पनि हो । यदि तपाईँ कुनै गेमको बारेमा राम्रोसँग जान्नुहुन्छ, राम्रो खेल्नुहुन्छ भने तपाईँले अरुलाई भिडिओमार्फत टिप्स दिन सक्नुहुन्छ ।

आफूसँग भएको नयाँ आइडिया अरुसँग बाँड्न सक्नुहुन्छ । यसबाहेक तपाईँको गेम प्ले राम्रो छ भने यससम्बन्धी भिडिओ हालेर नै पनि युट्युब, फेसबुकमार्फत कमाउन सक्नुहुन्छ ।

३. ई-स्पोर्टस प्रतियोगिता  

गेमिङबाट कमाउने अर्को उपाय भनेको प्रतियोगिता हो । यदि तपाईँ पब्जी, फ्रीफायर, डोटा जस्ता गेम खेल्नुहुन्छ भने नेपालमा नै बसेर यस्ता प्रतियोगिताहरु खेलेर पनि राम्रो कमाउन सक्नुहुनेछ ।

अहिले धेरै यस्ता प्रतियोगिता भइरहेका छन् । यदि तपाईँ राम्रो गेम खेल्नुहुन्छ भने यी प्रतियोगिताबाट पनि महिनामै लाखौँ कमाउन सक्नुहुन्छ । नेपालमा अहिले विशेषगरी पब्जी टिमहरुले धेरै कमाइ गरिरहेका छन् । 

 ४. गेमिङ पोडकास्ट

गेमरहरुको लागि गेमिङ पोडकास्ट पनि एउटा कमाउने माध्यम हो । गेमिङ पोडकास्टमा तपाईँले चलेका गेमर, स्ट्रिमर, ई-स्पोर्ट्स खेलाडीलाई ल्याएर कुराकानी गर्न सक्नुहुनेछ ।

जुन सामग्री गेमसँग चासो राख्नेहरुको लागि महत्त्वपूर्ण हुन्छ । यदि तपाईँले राम्रोसँग पोडकास्ट चलाउनुभयो भने स्पोन्सरहरु पनि पाउनुहुनेछ । यसबाट राम्रो कमाइ गर्न सक्नुहुनेछ ।

५. गेम प्रशिक्षक

सक्रिय गेमर भइसकेपछि तपाईँले गेम प्रशिक्षक भएर पनि कमाउन सक्नुहुनेछ । नेपालमा पनि विस्तारै पब्जी टिमहरुले प्रशिक्षक राख्न सुरु गरिसकेका छन् । राम्रो खेलाडी भइसकेपछि प्रशिक्षक भएर नयाँ खेलाडीलाई टिप्स दिन सक्नुहुन्छ ।

यसबाहेक यदि तपाईलाई गेमहरुको बारेमा राम्रो ज्ञान छ भने गेम परिक्षक पनि बन्न सक्नुहुनेछ, जुन नयाँ आउन लागेका गेमहरुको बगहरु परीक्षण गर्नका लागि आवश्यक मानिन्छ । यसबाहेक तपाईँ राम्रो लेख्नुहुन्छ भने खेल पत्रकार बनेर पनि कमाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०७९ १२:४५