close

कांग्रेसको गोप्य सर्कुलर भन्दै सामाजिक सञ्जालमा गलत स्क्रिनशट शेयर

टेकपाना टेकपाना

मंसिर ३, २०७९ १५:२

कांग्रेसको गोप्य सर्कुलर भन्दै सामाजिक सञ्जालमा गलत स्क्रिनशट शेयर

काठमाडौं । आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि स्थिर समय चलिरहेको बेला कांग्रेसको सर्कुलर भन्दै विभिन्न सञ्चार माध्यमको नक्कली स्क्रिनशट सामाजिक सञ्जालमा शेयर भएको पाइएकाे छ । कांग्रेसको गोप्य सर्कुलर विषयलाई लिएर नयाँ पत्रिका, सेतोपाटी, राताेपाटी, उज्यालाे अनलाइन लगायतका मिडियाको नक्कली स्क्रिनशट शेयर भइरहेको हो ।

यद्यपि सेतोपाटी र नयाँ पत्रिकाका पत्रकारहरूले भने यो स्क्रिनशट एडिट (फाेटाेशप) गरिएको र यसमा विश्वास नगर्न आग्रह गरेका छन् । नयाँ पत्रिकाको नाममा शेयर भएकाे नक्कली स्क्रिनशटमा पत्रकार कमलराज भट्टको बाइलाइनसहितको समाचार छ । तर उनले फेसबुकमा एक पोस्ट गर्दै उक्त स्क्रिनशट नक्कली भएको बताएका छन् । 

"यो समाचार नयाँ पत्रिकामा प्रकाशित नभएको, नलेखिएको र चुनावी खपतका लागि फोटोशप गरेर मिथ्या प्रचार र भ्रम फैलाउनेगरी आएको जानकारी गराउन चाहन्छु । सम्पूर्णमा भ्रममा नपर्न अनुरोध गर्दै दुष्प्रचार रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु," भट्टले लेखेका छन् ।

त्यस्तै सेतोपाटीका पत्रकार सन्जिव बगालेले पनि सेतोपाटीमा कसलाई भोट दिने/नदिने भनेर गोप्य सर्कुलर भएको भन्ने कुनै समाचार प्रकाशन नभएको र फोटोशप गरिएका समाचारको स्क्रिनसट शेयर भएको आफ्नो फेसबुक पेजमा उल्लेख गरेका छन् ।

यद्यपि यो विषयमा निर्वाचन आयोग भने बेखबर रहेको छ । "अहिलेसम्म हामीलाई यस विषयमा कुनै खबर आएको छैन । यदि हामीलाई केही रिपोर्ट भएमा हामी माथि पेस गर्नेछौं  र माथिबाट निर्देशन आए बमोजिम कारबाही गर्नेछौं," निर्वाचन आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले टेकपानासँग भने ।

पछिल्लो अध्यावधिक: मंसिर ३, २०७९ १६:५२