close

ई-सेवाको लगइनमा पुन: समस्या, भुक्तानी प्रभावित

टेकपाना टेकपाना

मंसिर ५, २०७९ २०:२२

ई-सेवाको लगइनमा पुन: समस्या, भुक्तानी प्रभावित

काठमाडौं । नेपाली डिजिटल वालेट एप 'ई-सेवा' मा लगइन समस्या देखिएको छ । एप खोल्दा अकाउन्ट एकाएक लगआउट भएपछि पासवर्ड राखेर लगइन गर्न खोज्दा लगइन हुन नसकेको गुनासो आइरहेको छ ।

त्यस्तै लगइन भइसक्दा पनि स्वतः लगआउट हुने समस्या देखिरहेको छ ।

कतिपय अवस्थामा कारोबार गर्न खोज्दा अकाउन्ट स्वतः लगआउट भइरहेको छ । यो समस्या साँझ ७:२० बजेपछि देखिएको प्रयोगकर्ताले बताएका छन् ।  

पछिल्लो समय फिफा विश्वकप २०२२ का लागि हिमालय प्रिमियमको सब्स्क्रिप्सन खरिद गर्न खोज्दा उक्त समस्या देखिएको प्रयोगकर्ताको गुनासो छ । आइतबार पनि डिजिटल वालेट खल्ती र ई-सेवा डाउन भएका थिए ।

टेकपानासँग कुरा गर्दै ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले भने, "ट्राफिक बढी भएको कारण समस्या आइरहेको छ । यसलाई समाधान गर्न हामी काम गरिरहेका छौँ ।" एउटै समयमा बढी ट्राफिक आउँदा यस्तो समस्या आइरहेको उनको भनाइ छ । "आइतबार प्रयोगकर्ताको चाप उच्च भएर एप डाउन भएको थियो," उनले भने, "आज त्यो भन्दा दोब्बर क्षमताको बनाएका थियौं यद्यपि आज झनै दोब्बर चाप आएर समस्या देखिएको हो ।" समस्या समाधान गर्ने प्रयास भइरहेको उनले बताए । 

जारी विश्वकपको तयारीहरू अन्तिम चरणमा हुँदा एकैसमयमा भुक्तानी गर्ने सेवाग्राहीको संख्या धेरै भएपछी यस्तो समस्या देखिएको छ । 

पछिल्लो अध्यावधिक: मंसिर ५, २०७९ २१:१