काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम युवा लक्षित भएको बताएका छन् । उनले नयाँ नीति तथा कार्यक्रमले सामाजिक सञ्जालका फेक अकाउन्टमा अल्मलिएका युवाहरूलाई आफ्नो भविष्य निर्माणतर्फ मोड्ने विश्वास व्यक्त गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले विशेषगरी जेन जेड पुस्तालाई लक्षित गरेर यो नीति ल्याइएको बताए । “यसपटकको नीति तथा कार्यक्रममा सबै क्षेत्रलाई समेटिएको त छँदैछ,” प्रधानमन्त्री ओलीले भने, “त्यसमा पनि युवाहरूलाई स्टार्टअपमार्फत उद्यमशील बनाउने, रोजगारीका अवसर सिर्जना गर्ने, विद्यार्थीलाई पढाइसँगसँगै सरकारी सेवाको इन्टर्नशिपमा प्रवेशको ढोका खोल्ने नीति पनि लिएको पक्ष पुनः दोहोर्याउन चाहन्छु ।”
त्यस्तै उनले ‘जेन जी’ पुस्ताका लागि विशेष स्थान र भूमिका दिएर ल्याइएको नीति तथा कार्यक्रम भएकाले यसको आकार र भाषामा परम्परा तोडिएको पाइने उनले बताए । “यसले सामाजिक सञ्जालका फेक अकाउन्टहरूमा अल्मलिएका युवाहरूलाई पनि आफ्नो भविष्य निर्माणमा नयाँ जागर र उर्जा पैदा गर्न बाटो खोल्नेछ भन्ने मैले विश्वास लिएको छु,” ओलीले भने ।