काठमाडौं । इयरबडको डब्बा बोकिरहनुपर्ने झन्झटलाई हटाउँदै ह्वावेले इयरबड सहितकै स्मार्टवाच सार्वजनिक गरेको छ । अब प्रयोगकर्ताले आफ्नै स्मार्टवाचलाई आफ्नो इयरबडको केस अथवा डब्बाका रूपमा प्रयोग गर्न सक्नेछन् ।
ह्वावेले सार्वजनिक गरेको 'ह्वावे वाचबड' नामको यो स्मार्टवाचमा १.४३ इन्चको एमोलेड डिस्प्ले छ । स्मार्टवाच र इयरबड एकैठाउँमा भएकोले कम्पनीले यसको नाम ह्वावे वाचबड राखेको हो ।
स्टेनलेस स्टिलबाट बनेको यो स्मार्टवाचको फिता भने लेदरले बनेको हो । यो २२ एमएमको स्मार्टवाच कालो र खैरो गरी दुई रङ्गमा उपलब्ध छन् ।
यसले मानिसको मुटुको धड्कनसँगै निन्द्रा र तनावको पनि मापन गर्दछ । साथै यो स्मार्टवाचले प्रयोगकर्ताको ईसीजी पनि जाँच गर्ने कम्पनीले जनाएको छ । यसमा ८० ओटा प्रकारका वर्कआउट (व्यायाम) मोडहरू छन् ।
स्मार्टवाचमा भएको इयरबड नोइज क्यान्सिलेसन सहित उपलब्ध छ जुन गीतहरू सुन्न सँगै फोनकलका लागि पनि प्रयोग गर्न सकिन्छ । यो वाचबडको कुल तौल ६६.५ ग्रामको छ । यसमा भएको इयरबडको तौल भने चार-चार ग्राम गरेर आठ ग्रामको छ ।
हार्मोनी ओएस ३ मा आधारित यो वाचबड एक पटकको फुल चार्जमा दुवै घडि र इयरबड प्रयोग गर्दा पनि तीन दिनसम्म ब्याट्री टिक्ने कम्पनीको दाबी छ ।
कम्पनीले यो वाचबडको मूल्य दुई हजार नौ सय ८८ युआन (करिब ५७ हजार रुपैयाँ) तोकेको छ ।