close

विश्वकपमा अनलाइन बेटिङ गर्ने २ जना पक्राउ, अन्य कोही संलग्न भए सूचना दिन प्रहरीको आग्रह

टेकपाना टेकपाना

मंसिर २५, २०७९ १८:२७

विश्वकपमा अनलाइन बेटिङ गर्ने २ जना पक्राउ, अन्य कोही संलग्न भए सूचना दिन प्रहरीको आग्रह

काठमाडौं । अनलाइन सट्टेबाजी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं नरदेवी बस्ने राजस्थान भारतका ३२ वर्षीय पवनकुमार शर्मा र काठमाडौं बुढानीलकण्ठ बस्ने पाल्पा जिल्ला रैनादेवी छहरा घर भएका २७ वर्षीय रुद्रप्रसार पोखरेल रहेका छन् ।

टेकपानासँग कुरा गर्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले पोखरेललाई शनिबार र शर्मालाई आइतबार पक्राउ गरिएको जानकारी दिए ।

"लुकिछिपी अनलाइन सट्टेबाजी भइरहेको सूचना आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले आवश्यक निगरानी थालेको थियो । सोही आधारमा शनिबार र आइतबार ती दुई व्यक्तिलाई पक्राउ गरिएको हो," उनले भने ।

उनीहरूले विभिन्न खेलहरूमा मोबाइल एप तथा वेबसाइट प्रयोग गरी सट्टेबाजी गर्ने गरेको प्रहरीले जनाएको छ । त्यस किसिमको गतिविधिमा संलग्न रहेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिइएको प्रवक्ता कोइरालाले बताए ।

उनका अनुसार पक्राउ परेका दुवै जनामाथि मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टेबाजी गर्न नहुने कसुर अन्तर्गत थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

"हाल विश्वकप लगायतका विभिन्न खेलहरू भइरहेकाले अनलाइन सट्टेबाजी गर्नेहरू धेरै छन्," उनले भने, "यदि कसैले सट्टेबाजी भइरहेको सूचना दिनुभयो भने हामी अनुसन्धान अघि बढाउँछौँ ।"

 

 

पछिल्लो अध्यावधिक: मंसिर २५, २०७९ १९:०