close

सन् २०२४ को डिसेम्बरदेखि युरोपमा बिक्री हुने सबै फोनमा टाइप-सी पोर्ट अनिवार्य

टेकपाना टेकपाना

मंसिर २७, २०७९ १२:४५

सन् २०२४ को डिसेम्बरदेखि युरोपमा बिक्री हुने सबै फोनमा टाइप-सी पोर्ट अनिवार्य

काठमाडौं । सन् २०२४ को अन्त्यबाट युरोपेली संघ (ईयू) अन्तर्गतका देशहरुमा बिक्री हुने सम्पूर्ण फोन तथा डिभाइसमा यूएसबी–सी अर्थात् टाइपसी-पोर्ट हुनुपर्ने भएको छ । यसअघि ईयूले सदस्य देशहरूमा बिक्री हुने सबै प्रकारका फोन तथा डिभाइसमा यूएसबी-सी पोर्ट अनिवार्य गर्ने निर्णय लिएको थियो ।

निर्णय भएपनि कहिलेबाट यो व्यवस्था लागू हुनेछ भन्ने विषयमा भने कुनै जानकारी उपलब्ध भएको थिएन । यस्तोमा ईयूले यो व्यवस्था सन् २०२४ को डिसेम्बरबाट लागू हुने जानकारी दिएको छ ।

योसँगै ईयू अन्तर्गतका देशमा टाइप-सी बाहेकका अन्य कुनै पोर्टयुक्त फोन तथा डिभाइस प्रयोगमा आउने छैनन् । विद्युतीय फोहोर (ई-वेस्ट)लाई व्यवस्थापन गर्ने तथा सबै डिभाइसमा प्रयोगकर्ताको पहुँचलाई सहज बनाउने कारण देखाउँदै ईयूले यो व्यवस्था लागू गरेको हो ।

सँगै उपभोक्तालाई विभिन्न डिभाइसका लागि फरक–फरक चार्जर प्रयोग गर्न असहज भएका कारण सबै डिभाइसमा एउटै चार्जर प्रयोग गर्नुपर्ने नियम बनाइए समेत जनाइएको छ । यो नीतिले गर्दा कम्पनीले हरेक नयाँ डिभाइसमा चार्जर दिइरहनुपर्ने बाध्यता पनि हट्ने संघको विश्वास लिइएको छ ।

अन्य डिभाइसमा प्रयोग भइरहेको चार्जर नै नयाँ डिभाइसमा पनि प्रयोग हुने भएपछि नयाँ डिभाइसमा चार्जर राख्नु नपर्ने  ईयूको तर्क छ । यसका लागि संघका सदस्य राष्ट्रहरू बिच सम्झौतामा हस्ताक्षर भइसकेको छ ।

यसको सबैभन्दा ठूलो असर एप्पललाई पर्ने देखिएको छ । हाल एप्पलका उत्पादनमा लाइटनिङ पोर्ट उपलब्ध हुँदै आएको छ । यस्ता सन् २०२४ को अन्त्यबाट ईयू अन्तर्गतका देशमा आफ्नो उत्पादन बिक्री गर्नका लागि एप्पल समेत आईफोनमा टाइप-सी पोर्ट उपलब्ध गराउनु पर्नेछ ।

पछिल्लो अध्यावधिक: मंसिर २७, २०७९ १२:४५