close

'वनएक्स बेट'मा बेटिङ गराउने एक जना पक्राउ, संलग्न अन्य व्यक्ति समेत खोज्दै प्रहरी

टेकपाना टेकपाना

मंसिर २७, २०७९ १७:२६

'वनएक्स बेट'मा बेटिङ गराउने एक जना पक्राउ, संलग्न अन्य व्यक्ति समेत खोज्दै प्रहरी

काठमाडौं । फिफा विश्वकप २०२२ मा अनलाइन बेटिङ साइट वान एक्स बेटबाट सट्टेबाजी लगाउन रकम संकलन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी जिल्ला महोत्तरी गाउँपालिका वडा नम्बर २ घर भई ललितपुर सानेपा बस्दै आएका २० वर्षीय आदर्श ठाकुर रहेका छन् ।

फिफा विश्वकप २०२२ लगायत विश्वमा सञ्चालन हुने खेल तथा गतिविधिहरूमा सट्टेबाजी गर्न प्रयोग हुने रुसी बेटिङ साइट तथा एप वान एक्स बेट (1X bet) मार्फत सट्टेबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टहरु सक्रिय रहेको सूचनाको आधारमा अनुसन्धान थाल्दा ठाकुर पक्राउ परेकाे काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ  ।

उनलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टेबाजी गर्न गराउन नहुने कसूर अन्तर्गत थप अनुसन्धान एवम् कारवाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार ठाकुर उक्त साइटमा सट्टेबाजी गराउन विगत आठ महिनादेखि सट्टेबाजी एजेन्टका रूपमा काम गर्न थालेका थिए ।

"उनले रकम संकलन र भुक्तानी गरेको आधारमा कमिसन रकम निर्धारण हुने भएकाले बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा डिजिटल वालेट अकाउन्ट खोली कारोबार गर्ने गरेको पाइएको छ," अपराध अनुसन्धान कार्यालयकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ, "सो क्रममा ठाकुरले विभिन्न व्यक्तिका नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि समेत खरिद गरी त्यसबाट विभिन्न सेवा प्रदायकहरूको सिम कार्ड समेत खरिद गर्ने गरेको देखिएको छ ।"

यसैगरी वालेटमा संकलन गरेको रकम ठाकुरले नबिल, सिद्धार्थ र एनआईसी एसिया बैंकमा रहेको आफ्नो खाता रकमान्तर गर्ने गरेको देखिएको छ ।

आठ महिनाको अवधिमा आरोपित ठाकुरले नबिल बैंकमा ६९ लाख छ हजार ७७० रुपैयाँ, सिद्धार्थ बैंकमा ४५ लाख छ हजार ७७० रुपैयाँ र एनआईसी एसिया बैंकमा ८८ लाख २४ हजार १५५ रुपैयाँ गरी दुई करोड दुई लाख ८४ हजार ४४८ रुपैयाँ बराबरको रकम वालेटबाट ट्रान्सफर गरेको पाइएको उक्त विज्ञप्तिमा उल्लेख छ । हालसम्म अनुसन्धानको क्रममा खुल्न आएका चार सय ८५ ओटा विभिन्न सेवा प्रदायकका डिजिटल वालेटको कारोबार रोक्का राखी थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले वनएक्स बेटका लागि प्रयोग गर्दै आएको वनप्लस फोन र ९४ ओटा एनसेल तथा स्मार्टसेल कम्पनीको सिम पनि बरामद गरिएको छ ।

प्रविधिको दुरुपयोग गरी बेटिङ, ठगी लगायतका अन्य कानून विपरीतका कार्य गर्नका लागि व्यक्तिका परिचय पत्र हरुका समेत दुरुपयोग भइरहेको देखिएकाले आफ्ना कागजात कहीँ कतै कसैलाई दिँदा सावधानी अपनाउन र यस्ता गतिविधिहरु थाहा भएमा जानकारी दिन प्रहरीले अनुरोधसमेत गरेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २७, २०७९ १७:२६