close

५० हजारले लिए एनसेलको भोल्टे सेवा

टेकपाना टेकपाना

मंसिर २७, २०७९ १६:४०

५० हजारले लिए एनसेलको भोल्टे सेवा

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटाले भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे)  सेवा सार्वजनिक गरेको तीन महिनामा ५० हजार ग्राहक पुर्‍याएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै एनसेलका इन्टरप्राइज सोलुसन मेनेजर सुशिल विष्टले यसबारे जानकारी दिएका हुन् ।

कम्पनीले सेप्टेम्बर १, २०२२ मा यो सेवा सार्वजनिक गरेकाे थियो । ग्राहकलाई स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवा प्रदान गर्न कम्पनीले यो सेवा ल्याएको हो । दूरसञ्चार सेवाकाे क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो, जसले उच्च गुणस्तरको हाई डेफिनिसन र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ ।

भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिन्छ । ग्राहकले यो सेवा एक्टिभेट गरेपछि फोरजी नेटवर्कमा रही फोन गर्दा थ्रीजी नेटवर्कमा नझरी हाल लाग्दै आएको सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकैसाथ फाइदा लिन सक्छन् ।

ग्राहकले सामसङ, भिभो, ओप्पो, वनप्लस, हुवावे, जेटटीई आदि फोनमा यो सेवा एक्टिभेट गरी यसको फाइदा लिन सक्छन् । हाल एन्ड्रोइडका लागि उपलब्ध यो सेवा कम्पनीले मार्च २०२३ पछि आईफोन प्रयोगकर्तालाई पनि उपलब्ध गराउने भएको छ ।

फोनमा भोल्टे सेवा उपयोग गर्दा कल सेटअप तीव्र हुने, कल गर्दा भ्वाइस गुणस्तर उच्च हुने र ब्याकग्राउन्ड नोइज कम हुने, कल गरिरहँदा फोरजी वा एलटीईमा इन्टरनेट प्रयोग गर्न सकिने विस्टको भनाइ छ । त्यस्तै यस अवधिमा सात हजार ईआरएल भोल्टे ट्राफिक रहेको उनले जानकारी दिए ।

एनसेलको फोरजी सिम अर्थात् यूसिम भएका र माथि उल्लेख गरिएका मोबाइल सेट प्रयोग गर्ने ग्राहकहरूले एस्ट्रिक्स १७२०१ ह्यास (*17201#) डायल गरी एनसेल भोल्टे सेवा लिन सक्छन् ।

पछिल्लो अध्यावधिक: मंसिर २७, २०७९ १६:४०