काठमाडौं । सोलुखुम्बुको विभिन्न चार स्थानमा फोरजी टावर बन्ने भएको छ । जिल्लाको महाकुलुङ गाउँपालिकाको कोलाम डाँडा, सोताङ गाउँपालिका दिम्बल डाँडाको पाथीभरा र चेपेल धर्मडाँडाको थलाखम डाँडा र थुलुङ दुधकोशीको गाउँपालिकाको जालिम डाँडामा फोरजी टावर निर्माण हुने भएको हो ।
फोरजी टावर सर्वेका लागि नेपाल टेलिकम ओखलढुंगाका वरिष्ठ इन्जिनियर धर्म महर्जनको नेतृत्वमा एक सर्वे टोली त्यस स्थानमा पुगेको थियो । सर्वेको सम्पुर्ण काम सम्पन्न भईसकेका कारण एक महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य सहित आउँदो माघबाट काम सुरु गरिने नेपाल टेलिकम सोताङका प्रमुख कुमार बस्नेतले जानकारी दिए ।
उल्लेखित क्षेत्रमा फोरजी टावर निर्माण भएपछि जिल्लाको अधिकांश क्षेत्रसँगै छिमेकी जिल्ला खोटाङको केही क्षेत्रमा समेत फोरजीको पहुँच पुग्नेछ ।