close

‘सेक्युरिटी प्रेसको कार्यकारी निर्देशक नियुक्ति नै गलत’

टेकपाना टेकपाना

फागुन ३०, २०७६ १२:१६

‘सेक्युरिटी प्रेसको कार्यकारी निर्देशक नियुक्ति नै गलत’

सांसदहरुले सेक्युरिटी प्रेसको कार्यकारी निर्देशकको नियुक्तीमै प्रश्न उठाएका छन् । शुक्रबार सिंहदरबारमा भएको सार्वजनिक लेखा समितिको बैठकमा सहभागी सांसदहरुले सेक्युरिटी प्रेस प्रकरणमा नयाँ विषय प्रवेश गराएका हुन् ।

सांसद धर्मशिला चापागाईंले सेक्युरिटी प्रिन्टिङकाे कार्यकारी निर्देशक नियुक्ति नै गलत भएको बताइन् । ‘नियमावलि नै संसाेधन गेरर नियुक्त गरिएको छ,’ उनले भनिन्, ‘यसमा सुरू देखि नै नियत घुसेकाे छ ।

अर्का सांसद तेजुलाल चौधरीले हालका कार्यकारी निर्देशक विकल पौडेलको योग्यतामै प्रश्न उठाए । १० वर्षको अनुभव हुनुपर्नेमा नियमावली संसोधन गरेर सात वर्ष बनाएर नियुक्त गरिएको उनको भनाई थियो । उनले भने, ‘यसमा लेखासमितिले उप-समिति बनाएर छानविन गराेस्  ।’

सांसद प्रदिप यादवले सेक्युरिटी प्रेस खरीदका लागि जीटुजीमा जानु नै गलत भएकाे बताए । सरकारले अब ग्लोबल टेण्डर आह्वान गरी नयाँ प्रक्रियाको थालनी गर्नुपर्ने उनको भनाई थियो ।

यसैगरी सांसद विरोध खतिवडाले पनि जीटुजीकाे नाममा अवैध काराेवार हुन थालेको भन्दै अब समितिले जीटुजीकै विषयमा अध्ययन गर्नुपर्ने बताए । सांसद मिनेन्द्र रिजालले याे विषयमा गम्भीर अध्ययनको आवश्यकता रहेको भन्दै धुसकाे प्रतिस्पर्धामा जित्नेले पनि उन्मुक्ति पाउन नहुने बताए । ‘धुस दिने र लिने दुबै एउटै हुन्, त्यसैले जित्नेकाे पनि अध्ययन हुनु पर्छ,’ उनले भने ।  

सांसद शरदसिंह भण्डारीले पनि यस्ता टेण्डर खुल्ला रुपमा गरिनुपर्नेमा जोड दिए । पुरानोमा विवाद आएका कारण अब नयाँ परियाेजना सुरू गर्नुपर्नेमा जोड दिँदै उनले यसमा लेखा समितिले भूमिका निर्वाह गर्नुपर्ने बताए । 

सेक्युरिटी प्रिन्टिङ नागरिकसँग जाेडिएकाे विषय भएकाले यसलाई अल्झाउने काम नगरेर ग्वाेवल टेण्डरबाट जानू पर्ने सांसद पार्वती कुमारी बिसुंखेको भनाई थियो । बैठकमा बोल्ने सांसदहरुले सेक्युरिटी प्रेसको विषयमा अख्तियारले छानविन अगाडि बढाउनुपर्नेमा समेत जोड दिएका छन् ।

तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको ७० करोड कमिसनमा बार्गेनिङ गर्दै गरेको अडियो टेप सार्वजनिक भएपछि उनले ८ फागुनमा पदबाट राजीनामा दिएका थिए । त्यस यता सेक्युरिटी प्रेसले सबैको ध्यान खिचेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१