close

कोरोनाले काम गर्ने शैलीलाई सधैंका लागि परिवर्तन गर्ला ?

टेकपाना टेकपाना

बैशाख ४, २०७७ १४:४२

कोरोनाले काम गर्ने शैलीलाई सधैंका लागि परिवर्तन गर्ला ?

काठमाडौं । मानिसहरुको कार्यशैली परिवर्तनका लागि कोरोनाभाइरसको महामारी एउटा कोशेढुंगा सावित हुने विश्व विख्यात सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टले बताएको छ । गत महिनादेखि माइक्रोसफ्टको भिडियो कन्फ्रेन्सिङ एप टिम्सको प्रयोग र माग विश्वव्यापी रुपमा बढेको छ ।

एक हप्तामा दैनिक सक्रिय प्रयोगकर्ताको संख्या तीन करोड २० लाखबाट बढेर ४ करोड ४० लाख पुगेको छ । प्रयोगकर्ता बढेसँगै  एकै दिनमा २ अर्ब ७० करोड मिनेट मिटिङहरु माइक्रोसफ्ट टिम्समा चल्ने गरेको कम्पनीको दैनिक रेकर्डमा देखिएको छ ।

जब कि मार्चको मध्यसम्म टिम्सको प्लेटफर्ममा ९० करोड मिनेटसम्म दैनिक मिटिङहरु हुनेगरेका थिए । अहिले यो २०० प्रतिशतले बढेको छ । यसबीचमा धेरै व्यवसायहरु रिमोट वर्कको अवधारणामा स्थानान्तरण भइसकेका छन् ।

मार्चमा टिम्सको भिडियो मिटिङ हजार प्रतिशतले बढेको थियो । जुन एकदमै अतुलनीय वृद्धी दर हो । माइक्रोसफ्टका अनुसार नर्वे र नेदरल्याण्डमा सबैभन्दा धेरै ६० प्रतिशत मानिसहरुले टिम्सको भिडियो कन्फ्रेन्स प्रयोग गर्ने गरेका छन् भने अमेरिकामा ४७ प्रतिशत रहेका छन् ।

टिम्सका नयाँ प्रयोगकर्ताहरुका लागि कम्पनीसँग पर्याप्त क्षमता रहेको सुनिश्चित गराउन अहिले माइक्रोसफ्टका इन्जिनियरहरु लागिपरेका छन् ।  भर्जसँगको अन्तरवार्तामा माइक्रोसफ्ट थ्री सिक्स्टी फाइभका प्रमुख ज्यारेड स्पाटारो भन्छन्, ‘आवश्यक समयमा राम्रो सेवा दिनका लागि हामीसँग पर्याप्त पूर्वाधार भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ । हामी पनि अहिले अरु जस्तै बामे सरिरहेको अवस्थामा छाैं ।’ 

युरोपमा टिम्सको सेवामा छोटो समयको अवरोध पनि सृजना भएको थियो । इटालीजस्तो मुलुकमा टिम्सको सेवाको माग ह्वात्तै बढ्दा कम्पनी पनि आश्चर्य चकित बनेको छ ।

युरोपमा बढिरहेको मागको अवस्थाबारे टिम्सले कहिल्यै पनि अनुमान नगरेको स्पाटारो बताउँछन् । यसकारण त्यहाँ चाँडोभन्दा चाँडो समाधानको खाँचाे रहेको उनले औंल्याएका छन् ।

धेरैभन्दा धेरै कम्पनीहरुले अहिलेको अवस्थामा भिडियो कन्फ्रेन्सिङ तथा मिटिङका लागि टिम्समा निर्भर भइरहँदा भिडियोमा दश हजार सहभागी हुन सक्ने संख्यालाई एक लाख पुर्‍याउन माइक्रोसफ्टमाथि दबाब परिरहेको छ ।

वास्तवमा माइक्रोसफ्टले टिम्सको फिचरलाई अपग्रेड गर्न प्राथमिकता दिएसँगै यो एपको माग र प्रयोगमा भारी मात्रामा वृद्धि भएको हो । एकवर्ष अघि घोषणा भएको कस्टम ब्याकग्राउण्ड फिचर टिम्सको प्लेटफर्ममा सबैका लागि उपलब्ध हुने बताइएको छ ।

यसले घरभित्रको लथालिङ्‌ग वातावरणको पृष्ठभूमिलाई लुकाउने काम गर्छ । हालै जूमले पनि यो फिचरलाई आफ्नो हाइलाइट फिचरको रुपमा ल्याएको छ । टिम्समा यो फिचर अर्को महिनादेखि उपलब्ध हुनेछ ।

आयोजकले एउटा स्टार्टिङ टुडे क्लिकको आधारमा मिटिङ बन्द गर्नसक्छ । साथै मिटिङका सबै सहभागी जोडिने र बाहिरिने समय सहितको रिपोर्ट डाउनलोड गर्नसक्छन् । 

यस्तै माइक्रोसफ्ट अहिले सहभागीहरुको संख्या क्षमता बढाउन भिडियो कल भ्यूमा सुधार गरिररहेको छ । जूमको प्रयोग आजभोलि एकदमै बढेको छ । यसमा एउटा साधारण ग्यालरी भ्यू छ । जसमा तपाईंले सबै सहभागीहरुलाई कुराकानीको समयमा सजिलै देख्न सक्नु हुन्छ । 

हाल टिम्सको सेटअपमा टू बाइ टू भिडियोहरु देख्न सकिन्छ । तर मिटिङहरुको आकार थप बढिरहेको समयमा मानिसहरु अझ धेरै भिडियो हेर्न चाहन्छन् । यसकारण एकैपटकमा थप धेरैजनालाई समावेश गराउन अहिले टिम्सले काम गरिरहेको स्पाटारो बताउँछन् ।

वर्क फ्रम होम बढेसँगै अहिले ल्यापटप र वेबक्यामको माग पनि बजारमा बढेको छ । माइक्रोसफ्टको सप्लाई चेनमा पनि यस्तै किसिमको ट्रेण्ड देखिएको छ ।

मानिसहरु आईप्याडबाट काम गर्न चाहन्छन् । तर यसले काम राम्रो गर्नसक्दैन । जसका कारण पर्सनल कम्प्युटरको बजार बढेको स्पाटारो बताउँछन् । शिक्षा र स्वास्थ्य सेवामा पनि प्रविधिको प्रयोग बढेसँगै अहिले मोबाइलमा पनि टिम्सको प्रयोग बढेको उनी बताउँछन् ।

यसबीच अहिले एउटा प्रश्न उठेको छ । कोरोनाको महामारी रोकिएपछि के होला ? स्पाटारो भन्छन्, ‘फेरी अवस्था नयाँ र सामान्य बन्ने कुरा स्पष्ट छ । यदि तपाईंले सिंगापुर र चीनमा भइरहेको कुरालाई हेर्नु भयो भने तपाईंलाई आफू टाइम मेसिनमा भएको आभाष हुन्छ ।

त्यहाँ मानिसहरु काममा फर्किएका छैनन् र यसैलाई निरन्तरता दिइरहेका छन् । समाजमा विभिन्न किसिमका प्रतिबन्धहरु कायम छन् । मानिसहरुले काम गर्ने तरिकामा नयाँ ढाँचा देखिएको छ । मानिसहरु कार्यालयमा काम गर्ने र घरमै बसेर काम गर्ने हिसावले समय छुट्याइरहेका छन् ।’

कोरोना भाइरस संक्रमण रोक्न लागु प्रतिबन्ध हटाइसक्दा पनि चीनमा माइक्रोसफ्टले जनवरीको तुलनामा दैनिक दुई गुणाको दरले टिम्सका नयाँ प्रयोगकर्ताहरु बढिरहेको बताएको छ ।  चीनमा हप्तैपिच्छे दैनिक सक्रिय टिम प्रयोगकर्ता पनि निरन्तर बढिरहेका छन् ।  

महामारीपछि स्वरुप बदलिएको समाजमा कसरी प्रस्तुत हुने भन्ने कुराको सुरुवाती संकेत हुन् यी । सिंगापुरले पनि अहिले सर्किट ब्रेकर मोडेल लागु गरेको छ । जसमा उसले महामारी फैलिएका सहरका केही विद्यार्थी र कर्मचारीहरुलाई घर पठाएको छ ।

महामारीको नयाँ अवस्थामा पनि टिम्सलाई निरन्तर प्रयोग गरिरहनु पर्ने अवस्था आउनेमा स्पाटारो ढुक्क छन् ।

यस्तै घरबाट काम गरिरहँदा टिम्स जस्तो प्लेटफर्ममा भिडियो कन्फ्रेन्स सुरु हुँदाको अवस्थामा नजोडिएकाहरुलाई पछि जोड्न नसकिने र च्याटले भिडियो कललाई प्रभावित बनाइरहेको समस्या माइक्रोसफ्टले झेल्दै आएको छ ।

स्पाटारो अगाडि भन्छन्, ‘च्याट पनि मिटिङको एउटा महत्वपूर्ण हिस्सा बनेको हामीले देख्दै आइरहेका छाैं । च्याट कुनै आकस्मिक घटना होइन । अहिले मिटिङ चलिरहेकै समयमा च्याट गर्ने कुरा नयाँ मोडालिटी बनेको छ ।

यसले मिटिङलाई योगदान दिइरहेको हुन्छ । भिडियो मिटिङसँगै हुने च्याटले सहकर्मीहरुबीच रियल टाइम सल्लाह र फिडब्याक दिन मद्दत पुर्‍याएको छ ।’ 

रिमोट वर्किङको नयाँ ट्रेण्डलाई सहयोग पुर्‍याउने माइक्रोसफ्टको टिम्स मात्र एक्लो प्लेटफर्म भने होइन । यसअलावा प्रतिस्पर्धी कम्पनीहरु स्ल्याक, गूगल र जूमले पनि यसमा योगदान दिइरहेका छन् । यी प्लेटफर्महरुको मागमा पनि ठूलो मात्रामा वृद्धि भएको छ ।

जूमले अहिले गोपनीयता र सुरक्षा सम्बन्धी मामिलाहरुको सामना गरिरहेको छ । माइक्रोसफ्टले जूमलाई नजिकबाट हेरिरहेको छ । 

स्पाटारो भन्छन्, ‘सुरक्षा र गोपनीयताबारे सोच्न र काम गर्न माइक्रोसफ्टले कहिल्यै ढिलाई गर्दैन । यी कुराहरु हामी काे हाैं, हामी के बनाउँछाैं र कसरी बनाउँछाैं भन्ने कुराहरुसँग यो गहीरोरुपमा जोडिएको छ ।’ 

अन्य प्रतिस्पर्धीहरु चाँडोभन्दा चाँडो मिटिङ आयोजना गर्ने र सक्ने कुरामा मात्र केन्द्रीत छन् । यसै कारण सुरक्षा र गोपनीयताकाे विषय दूर्भाग्य बन्न जान्छ ।

‘अहिलेको विश्वमा यी विषयहरु सामान्य उपभोक्ताको दृष्टिबाट हेरिन्छ र रातारात यस्ता प्लेटफर्महरुलाई चर्चित बनाइन्छ । जसकारण यी प्लेटफर्महरु दोष र कमजोरी बोकेर नै समाप्त हुन्छन्,’ स्पाटारो भन्छन् ।

माइक्रोसफ्टले शुद्ध भिडियोकलको सेवा प्रदान गर्ने कम्पनीहरु चर्चामा आउने र एकैपटक सेलाएर जाने बताइरहको छ । तर टिम्स शुद्ध भिडियो कलिङ प्लेटफर्म मात्र नभएको उसको दाबी छ । 

माइक्रोसफ्टले यो महामारीले सदाका लागि सबै कुरालाई परिवर्तन गरिदिने कुरा स्पष्ट रुपमा देखेको छ । 

‘मलाई लाग्छ हाम्रो काम गर्ने र सिक्ने शैलीको लागि यो नै वास्तविक कोशेढुंगा हुनेछ । किनभने हाम्रो वरिपरी यस्ता वास्तविक प्रयोगात्मक कुराहरु भइरहेका छन्,  जुन पक्कै पनि अब कहिल्यै पुरानो समयमा फर्कने छैन,’ स्पाटारो भन्छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४