close

टेलिकमको डेटामार्फत ८ सय विद्यार्थी अनलाइनमा पढाउँदै बुढानिलकण्ठ स्कूल

टेकपाना टेकपाना

बैशाख २४, २०७७ १४:११

टेलिकमको डेटामार्फत ८ सय विद्यार्थी अनलाइनमा पढाउँदै बुढानिलकण्ठ स्कूल

काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट बच्न सरकारले मुलुक लकडाउन गरिरहेको समयमा नेपाल टेलिकमले अनलाइन कक्षा सञ्चालनमा सहयोग पुग्ने गरी ई–शिक्षा प्याकेज उपलब्ध गराएको छ । अहिले उक्त प्याकेजबाट ७७ वटै जिल्लाका विद्यार्थीहरु लाभान्वित भइरहेका छन् ।

मुलुकको प्रतिष्ठित बुढानिलकण्ठ स्कूलले पनि त्यहाँ अध्ययनरत ७७ वटै जिल्लामा छरिएर रहेका विद्यार्थीहरुलाई टेलिकमको ई–शिक्षा प्याकेजमार्फत शिक्षा प्रदान गरिरहेको छ । जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरी निःशूल्क शिक्षा समेत दिइरहेको सो विद्यालयमा अध्ययनरत सबै विद्यार्थी अहिले अ–आफ्नो घरमा छन् ।

मुलुकभर छरिएर रहेका दुर्गम जिल्ला र क्षेत्रका विद्यार्थीहरुलाई समेत टेलिकमको ई–शिक्षा प्याकेज दिएर विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्न थालेको हो । बुढानिलकण्ठ स्कूलका प्रधानाध्यापक होम आचार्यले टेलिकमको ई–शिक्षा प्याकेजबाट ७७ वटै जिल्लामा छरिएर रहेका विद्यार्थीलाई समेटेर अनलाइन कक्षा सञ्चालन भइरहेको जानकारी दिए ।

‘टेलिकमसँग प्याकेज खरिद गरी दुर्गम जिल्ला र क्षेत्रमा रहेका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई निःशूल्क रुपमा डेटा उपलब्ध गराएका छौँ,’ उनले भने, ‘सबै क्षेत्रमा पहुँच पुगेको कम्पनीको डेटा स्पीड पनि राम्रो रहेकाले काठमाडौंबाटै मुलुकभर कक्षा सञ्चालन सम्भव भएको छ ।’

अभिभावक संघसँगको सहकार्यमा विद्यार्थीहरुलाई निःशूल्क डेटा सेवा उपलब्ध गराइरहेको स्कूलले हाल दैनिक ८ सय विद्यार्थीलाई अनलाइनबाटै पढाइरहेको छ । टेलिकमले विशेष ई–शिक्षा प्याकेज अन्तर्गत २८ दिनका लागि २६० रुपैयाँमा ६ जीबी र पाँच सय रुपैयाँमा १५ जीबी डेटा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व समेतलाई दृष्टिगत गरी बजार मूल्यभन्दा निकै सस्तोमा ई–शिक्षा प्याकेजको रुपमा डेटा सेवा दिँदै आएको छ । विश्वविद्यालय र विद्यालयहरुको सिफारिशका आधारमा टेलिकमले विद्यार्थी र शिक्षकहरुलाई यस्तो डेटा प्याकेज उपलब्ध गराउँदै आएको छ ।

कम्पनीमा ईमेल गरी विश्वविद्यालय तथा विद्यालयहरुले प्याकेज प्रदान गर्नुपर्ने नम्बरहरुको सूचीसहित सिफारिश पठाउनु पर्ने हुन्छ । सिफारिश प्राप्त भएका नम्बरहरुमा *1441# डायल गरी प्याकेज खरिद गर्न भन्दै कम्पनीले एसएमएसमार्फत सूचित गर्छ ।

जसबाट उपलब्ध दुईमध्ये कुनै एक प्याकेज खरिद गर्न सकिन्छ । ई–शिक्षा प्याकेज टेलिकमले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइल डेटा सेवा (टुजी, थ्रिजी र फोरजी) मार्फत प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१