close

१५ करोडमा टेलिफोन र इन्टरनेटको गुणस्तर मापन गर्ने सिस्टम खरीद गरिंदै

टेकपाना टेकपाना

असार २, २०७७ १५:२२

१५ करोडमा टेलिफोन र इन्टरनेटको गुणस्तर मापन गर्ने सिस्टम खरीद गरिंदै

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले भ्वाइस तथा डेटाको गुणस्तर मापन गर्न क्यूओएस मनिटरिङ सिस्टम खरीद गर्ने भएको छ । आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रमअन्तर्गत नियामकले १५ करोड रुपैयाँ लागतमा यस्तो प्रणाली राख्ने भएको हो ।

भर्खरै प्राधिकरण सञ्चालक समितिबाट पारित कार्यक्रममा दूरसञ्चार सेवाको गुणस्तर मापन गर्नका लागि सेवा, उपकरण तथा प्रणाली खरिद गर्ने तथा क्यूओएस मनिटरिङ सिस्टम जडान गर्न अध्ययन गरी कार्यान्वयन गर्ने उल्लेख छ ।

योजनाअनुसार कात्तिक मसान्तसम्ममा बोलपत्र आह्वान गरी भेन्डर छनौटको कार्य सम्पन्न गरिनेछ । यसैगरी फागुन मसान्तसम्ममा सेवा, उपकरण तथा प्रणाली खरिद, जडान तथा भेरिफिकेसनको काम पुरा हुने र आगामी आर्थिक वर्षभित्र परियोजना सम्पन्न हुने बताइएको छ ।

नयाँ सिस्टमबाट मोबाइल तथा इन्टरनेटको गुणस्तर मापन गरी सुधारका लागि आवश्यक निर्देशन दिन सकिने प्राधिकरणको विश्वास छ । चालु आर्थिक वर्षको कार्यक्रमको निरन्तरता स्वरुप अगाडि बढाइएको यो परियोजनाबाट प्राप्त तथ्याङ्क मापनको जाँच गर्न तथा अध्ययन विश्लेषण गर्ने कार्यका लागि परामर्शदाता राख्ने छुट्टै योजना समेत नियामकले बनाएको छ ।

७० लाख रुपैयाँ लागतमा परामर्शदाताले दूरसञ्चार सेवाको गुणस्तरको अवस्था पहिचान गरी सुधार गर्न सकिने संभावनाको विषयमा नियामकलाई प्रतिवेदन बुझाउनेछ ।

यद्यपी प्राधिकरण बोर्डबाट पारित भइसकेको भए पनि वार्षिक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले परिमार्जन गर्न भने सक्नेछ । मन्त्रालयले स्वीकृत गरेपछि मात्र कार्यक्रम कार्यान्वयनमा आउने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१