काठमाडौं । विश्वकै प्रमुख चिपसेट निर्माता कम्पनी इन्टेल साइबर आक्रमणको सिकार भएको छ । यस घटनाबाट ह्याकरले कम्पनीको महत्वपूर्ण २० जीबी डेटा चोरी गर्न सफल भएको हो ।
तर अहिलेसम्म ह्याकरको पहिचान भने हुन सकेको छैन । चोरी भएको २० जीबी डेटामा गोप्य र संवेदनशील जानकारी रहेको बताइएको छ । रिपोर्टका अनुसार लीक हुने डेटामा बायोस कोड र डी-बगिङ कोड समेत सामेल छ ।
प्रारम्भिक छानबिनका क्रममा चोरी भएको डेटा इन्टेल रिसोर्स एण्ड डिजाइन सेन्टरको रहेको बताइएको छ । स्विस सफ्टवेयर डेभलपर टिल कोटम्यानले ट्वीटमार्फत डेटा लिकको जानकारी बाहिर आएको हो ।
उनले आफ्नो एउटा ट्वीटमा भनेका छन् कि यस वर्षको सुरुमा उनले ह्याकरबाट ह्याकिङको बारेमा जानकारी प्राप्त गरेका थिए । बाहिरिएका स्क्रीनशटहरु हेर्दा चोरी गरिएको डेटामा इन्टेलको रोडम्याप र गोपनीय जानकारीका साथै प्रोसेसरका धेरै संस्करणहरू समेत समावेश छन् ।
यस बाहेक त्यसमा केही मार्केट टेम्प्लेट पनि छन् । हालसालै मात्र प्रमुख क्यामेरा निर्माता कम्पनी क्यानन समेत साइबर आक्रमणको सिकार भएको थियो । आक्रमण पश्चात क्याननको इमेज डट क्यानन क्लाउड स्टोरेजको सेवा ठप्प भएको छ ।
साथै कम्पनीको अमेरिकी वेबसाइट तथा कयौं आन्तरिक एप्लिकेसन समेत बन्द भएका छन् । क्याननले ह्याकिङको बारेमा अझैसम्म विस्तृत जानकारी बाहिर ल्याएको छैन ।
तर केही रिपोर्टमा उल्लेख भएअनुसार क्यानन् माथि म्याज र्यान्समवेयर आक्रमण भएको थियो । साइबर आक्रमणपछि कम्पनीले इमेज डट क्यानन वेबसाइटमा एक नोट प्रकाशित गरेको छ ।