close

नेपाल एकीकरणको झल्को दिने देशकै पहिलो गेम ‘वार–दी कन्क्योर’

टेकपाना टेकपाना

भदौ २, २०७७ ८:८

नेपाल एकीकरणको झल्को दिने देशकै पहिलो गेम ‘वार–दी कन्क्योर’

काठमाडौं । पछिल्लो समय गेम बनाएर प्ले स्टोर तथा एप स्टोरमा राख्ने नेपाली युवाहरुको संख्या बढ्दाे छ । नेपाली युवाले बनाएको गेम ‘म्यारिज’, ‘लुडो’, ‘कलब्रेक’, ‘ड्राइभिङ स्कूल’ लगायतका गेमहरु विदेशमा समेत खेल्ने गरिन्छ ।

यसै सूचीमा अर्को गेम पनि थप भएको छ । काठमाडाैंकाे टेक्सास इन्टरनेश्नल कलेजमा बिएससीआईटी तेस्रो वर्षमा अध्ययनरत सुबित ढकालले ‘वार–दी कन्क्योर’ नामक गेम निमार्ण गरी सार्वजनिक गरेका छन् ।

नेपालको इतिहासलाई झल्काउने खालको गेम सोमबारमात्रै प्ले स्टोरमा सार्वजनिक गरिएको ढकालले बताएका छन् । ढकालका अनुसार यो गेम लडाईंसँग सम्बन्धित छ, त्यो पनि नेपालको एकीकरणसँग सम्बन्धित। गोरखाका राजा पृथ्वीनारायण शाहको पालामा भएकाे नेपालको एकीकरण गेममार्फत देखाइएको छ ।

ढकाल भन्छन, ‘त्यसबेला पृथ्वीनारायण शाहले नेपालको एकीकरण नुवाकोटबाट गरेका थिए । गेममा पनि आक्रमणको सुरुवात नुवाकोटबाटै हुन्छ। जसरी त्यसबेला एक/एक स्थान जित्दै एउटा देशको रुपमा निमार्ण गरिएको थियो, त्यसरी नै गेममा पनि हरेक सेनाहरु जित्दै अन्तिममा नेपाल तयार हुने बनाइएको छ ।

गेममा प्रयोगकर्तालाई हेरक स्थान जितेसँगै उक्त जितेको भू-भाग नेपालको भू-भागमा जोडिएको जानकारी दिनेछ । अन्तिममा सबै एकीकरणको कार्य सम्पन्न भएको भनी बधाइसमेत दिने सिस्टम रहेको ढकाल बताउँछन् ।

ढकालका अनुसार यो गेम सामन्य रुपमा बनाइएको छ । लकडाउनको समयमा कैलालीस्थित घरमा बस्दा समय बिताउने माध्ययको रुपमा यो गेम निमार्ण गरेकाे उनले बताए । आफूसँग भएको स्रोतले नभ्याउँदा यसमा जम्मा १३ वटा लेभलमात्रै रहेको छ ।

याे गेममा एकीकरणको सबै भागलाई समेटिएको उनले बताए । याे गेम अहिले गुगल प्ले स्टोरमा मात्रै उपलब्ध रहेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०