close

ईकमर्स व्यवसाय व्यवस्थित गर्न छुट्टै ऐन

टेकपाना टेकपाना

भदौ ११, २०७७ १७:०

ईकमर्स व्यवसाय व्यवस्थित गर्न छुट्टै ऐन

काठमाडौैं । नेपालमा पछिल्लो समय विस्तार हुँदै गएको ईकमर्स व्यवसायलाई व्यवस्थित र नियमित गर्न छुट्टै ऐन ल्याउने तयारी सुरु भएको छ । मंगलबारको मन्त्रिपरिषद बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई विधेयक तयार पार्न सैद्धान्तिक स्वीकृति दिएको हो ।

मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले यस विषयमा जानकारी दिए । निर्णय सुनाउने क्रममा उनले भने, ‘विद्युतीय माध्यमद्धारा सञ्चालन गरिने व्यापार तथा ई विजनेस सम्बन्धी विधेेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।’

अब उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विधेयकको मस्यौदा तयार पारी मन्त्रिपरिषदमा पेश गर्ने र स्वीकृत भएपश्चात ऐनको रुपमा पारित गर्न संसदको आगामी अधिवेशनमा लैजाने सरकारको योजना छ ।

स्पष्ट कानून नहुँदा नेपालमा ईकमर्स कम्पनीहरुप्रति उपभोक्ताको खासै मोह पैदा हुन सकिरहेको छैन । महामारीको समयमा विश्वव्यापी रुपमा ईकमर्स कम्पनीहरुले उल्लेख्य प्रगति गरिरहेको भए पनि नेपाली ईकमर्स कम्पनीहरु भने संकटबाट गुज्रिरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३