काठमाडौं । काठमाडौं माइतिघर स्थित सेन्ट जेभियर कलेजले इन्ट्रान्स इक्जाम (प्रवेश परीक्षा) को नाममा विद्यार्थीको व्यक्तिगत ईमेल आईडी सार्वजनिक गरेको छ । कक्षा ११ मा भर्ना लिन अनलाइन अन्तर्वार्ताका लागि सर्टलिस्ट प्रकाशन गर्दा कलेजले सहभागी सबै विद्यार्थीको नाम सहित ईमेल आईडी वेबसाइटमा सार्वजनिक गरेर गम्भीर लापरबाही गरेको हो ।
जसमा प्रवेश परीक्षाका लागि आवेदन दिएका करिब ४५० जना विद्यार्थीको नाम, लिङ्ग र ईमेल आईडी रहेको छ । यस्तो अवस्थामा गलत प्रवृत्ति भएका व्यक्तिहरुले विद्यार्थीमाथि विभिन्न प्रलोभन पार्ने खालको सन्देश उनीहरुको इमेलमा पठाउन सक्ने साइबर सुरक्षा अनुसन्धानकर्ता सौगात पोखरेल बताउँछन् ।
उनी भन्छन्, ‘हालै मात्र एसईई पास गरेका कलिला विद्यार्थीहरुको व्यक्तिगत जानकारी बाहिरिँदा उनीहरु स्क्यामरको जाल तथा प्रलोभनमा पर्ने सम्भावना हुन्छ ।’
यस्ता व्यक्तिगत जानकारी संकलन गरिसकेपछि त्यसको संरक्षण गर्नु सम्बन्धित पक्षको जिम्मेवारी भित्र पर्ने पोखरेलको भनाई छ । उनी अगाडि भन्छन्, ‘त्यसो गर्न नसकेको खण्डमा उनीहरु कारबाहीको भागिदार हुनुपर्ने अवस्था आउन सक्छ । ‘
तर कलेज भने यस विषयमा गैरजिम्मेवार रुपमा प्रस्तुत हुँदै आफ्नो बचाउमा उत्रिएको छ । फेसबुक पेजबाट जवाफ दिँदै सेन्ट जेभियर कलेजले सार्वजनिक गरिएका मध्ये धेरैजसो ईमेल इन्ट्रान्स परीक्षाको प्रयोजनका लागि मात्रै बनाइएको आधारहीन तर्क गरेको छ ।
जवाफमा कलेजले अगाडि भनेको छ, ‘उनीहरु पेशागत जीवनमा प्रवेश नगरुञ्जेल यी ईमेलहरु प्रयोगमा आउने छैनन् ।’