close

देशभरका आविष्कारकका लागि नास्टले सार्वजनिक गर्‍यो नेशनल वेब पोर्टल

टेकपाना टेकपाना

असोज ११, २०७७ १७:१९

देशभरका आविष्कारकका लागि नास्टले सार्वजनिक गर्‍यो नेशनल वेब पोर्टल

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेसनल इनोभेसन डिजिटल नेटवर्क (एनआईडीएन) को वेब पोर्टल सार्वजनिक गरेको छ । नेपालको समग्र आविष्कार क्षेत्रलाई संयोजन गर्ने उद्देश्यका साथ नास्टको सब डोमेनको रुपमा इनोभेसन नेपाल नामक वेबपोर्टल सार्वजनिक भएको हो ।  

आइतबार भर्चुअल रुपमा आयोजित कार्यक्रममार्फत पूर्व वातावरण, विज्ञान, तथा प्रविधि मन्त्री गणेश साह  र  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति सुनिल बाबु श्रेष्ठले संयुक्त रुपमा सार्वजनिक गरेको वेबपोर्टलमा नेपालभर छरिएर रहेका आविष्कारकहरुको विस्तृत विवरण समेटिनेछ ।

प्रतिष्ठान अन्तरगत सञ्चालित ‘समृद्धिका लागि नवप्रवर्तन केन्द्र को उद्देश्य र कार्यक्रम अनुरुप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड-१९ प्रतिकारका लागि ‘प्रविधि विकास तथा नवप्रवर्तन’ समिति गठन गरेको थियो । सोही समितिमा रहेको रोबोटिक्स एसोसियसन नेपाल (र्‍यान) र नक्साको संयुक्त प्रयासमा ‘राष्ट्रिय नवप्रवर्तन विद्युतीय सञ्जाल’  निर्माण गरिएको हो ।

प्रतिष्ठानले उक्त सञ्जालको सहज सञ्चालन तथा दायरा विस्तारका लागि यसको स्वामित्व ग्रहण गरिसकेको छ। यो विद्युतिय सञ्जाल मूलतः नेपाली नवप्रवर्तकहरुले आफ्ना कामको प्रदर्शन गर्न, आवश्यक सहयोगको याचना गर्नका साथै मुलुकभित्र र बाहिर रहेका नवप्रवर्तकहरुसँग सम्बन्ध स्थापित गर्ने प्लेटफर्मको रुपमा समेत रहनेछ ।

यसमा सर्वसाधारण सबैको पहुँच सुनिश्चित गरिने नास्टले जनाएको छ । इनोभेसन म्यापरको रुपमा रहने यो सञ्जालमा देशका विभिन्न क्षेत्रमा रहेका आविष्कारकहरुको शोकेस (विस्तृत विवरण सहितको जानकारी) रहनेछ ।

जसमा आविष्कारकहरुको प्रोजेक्ट, टिमको प्रोफाइल, फण्डिङ, मेन्टरशिपको आवश्यकता र सामना गरिरहेको चुनौती लगायतका विषयहरु रहने छन् । वेबसाइटमार्फत आविष्कारकहरुले आफ्नो प्रोफाइल शोकेसका लागि नास्टमा अनुरोध गर्न सक्नेछन् ।

वेबसाइटमा गएर पोर्टलमा दर्ता भएका नवप्रवर्तन खोज्न तथा दर्ता गर्न सकिनेछ । यो समाचार तयार पार्दासम्म पोर्टलमा १२ वटा नवप्रवर्तन तथा ११ वटा नवप्रवर्तक दर्ता भइसकेका छन् ।

नेपालका नवप्रवर्तकहरु र उनीहरुका कामको पहिचान, नक्साङ्कन र त्यससम्बन्धी सूचना प्रवाह गर्न विकास गरिएको यो एक नवीन पहल हो । यसमा नेपालमा विद्यमान नवप्रवर्तनहरुको प्रकृति, तिनको अवस्था, विस्तारका लागि आवश्यक सहयोग, नवप्रवर्तकहरुको सम्पर्क लगायतका विवरण राखिनेछ ।

व्यक्तिगत, सामुहिक तथा संस्थागत रुपमा गरिएका नवप्रवर्तनको अभिलेख समेत राखिने यो नेटवर्क राष्ट्रिय नवप्रवर्तन प्रणालीको अभिन्न अंगको रुपमा रहनेछ । यसले देशका हरेक क्षेत्र र तिनै तहका सरकारहरुलाई नवप्रवर्तनको प्रवर्धनका लागि उपयूक्त वातावरण निर्माण गर्न सहयोगी भूमिका निर्वाह गर्नेछ ।

साथै यसले सम्प्रेषण गर्ने सूचनाले देशभित्र नवप्रवर्तनको नक्कल गर्ने कार्यको न्यूनीकरण हुनुका साथै उपलब्ध स्रोतको अधिकतम उपयोग गर्न समेत सहयोग गर्नेछ । कोभिड-१९ प्रतिरोध गर्ने नवप्रवर्तनहरुको नक्साङ्कन गर्ने उद्देश्यका साथ सुरु भएको यो सञ्जालमा आगामी दिनमा सबै प्रकारका नवप्रवर्तनहरु समेटिने बताइएको छ । 

यस हिसावले यसलाई नेपालको नवप्रवर्तन सम्बन्धी गतिविधिहरुको जानकारी प्राप्त गर्न सकिने मूख्य आँखीझ्यालको रुपमा विकास गरिनेछ । यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्न प्रतिष्ठानले प्रविधि संकायका प्रमूख डा. रविन्द्रप्रसाद ढकालको संयोजकत्वमा सात सदस्यीय समिति समेत गठन गरेको छ।

यसले ‘समाजका लागि विज्ञान र समृद्धिका लागि आविष्कार’ को अवधारणालाई सार्थक रुप दिन र नेपालको रुपान्तरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०