काठमाडौं । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको फोरजी सेवा देशका ७१ जिल्लामा पुगेको छ ।१८ जेठ २०७४ माफोरजी परियोजना अगाडि बढाएको कम्पनी देशभर ७१ जिल्लाका ५४९ वटा स्थानीय तहमा सेवा विस्तार गर्न सफल भएको हो ।
एनसेलका अनुसार अब ६ जिल्लामा मात्रै फोरजी सेवा विस्तार गर्न बाँकी छ । जसमा मनाङ, जुम्ला, डोल्पा, हुम्ला, कालिकोट र मुगू रहेका छन् ।
कम्पनीले देशभरका सबै जिल्लामा फोरजी सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दै एलटीई प्रविधिको लाभ सबैको पहुँच सुनिश्चित गरिने जनाएको छ । त्यसका लागि बाँकी ६ जिल्ला तथा २०४ वटा स्थानीय तहमा समेत फोरजी पुर्याउने योजना एनसेलले बनाएको छ ।
दुर्गम तथा ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न तल्ला ब्याण्डको फ्रिक्वेन्सी आवश्यक रहेको भन्दै कम्पनीले त्यसका लागि प्राधिकरणमा अनुरोध समेत गरिसकेको छ । एनसेलले नियामकबाट ९०० मेगाहर्ज ब्याण्डमा थप फ्रिक्वेन्सीसँगै टूजीका लागि आफूसँग रहेको फ्रिक्वेन्सीमा प्रविधि तटस्थताको अनुमति प्राप्त भएसँगै बाँकी क्षेत्रमा समेत फोरजी सेवा विस्तार गरिने जनाए ।
एनसेलले ईमेलमार्फत टेकपानासँगको भनेको छ, ‘आर्थिक तथा प्राविधिक रुपमा तल्लो ब्याण्डको फ्रिक्वेन्सी भएको खण्डमा मात्रै त्यस्ता क्षेत्रमा सेवा विस्तार गर्न सम्भव छ ।’
हाल एनसेलसँग ९०० मेगाहर्ज ब्याण्डमा ८ मेगाहर्ज फिक्वेन्सी रहेको छ । साथै फ्रिक्वेन्सी नीति अनुरुप अब उसले यो ब्याण्डमा अधिकतम फ्रिक्वेन्सीको सीमाका कारण १.६ मेगाहर्ज थप फिक्वेन्सी पाउने देखिन्छ ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको निवेदनलाई फ्रिक्वेन्सी नीति निर्धारण समितिमा पुर्याइसकेको छ । समितिले निर्णय गरेसँगै एनसेललाई प्रविधि तटस्थताको अनुमतिसँगै थप फ्रिक्वेन्सी उपलब्ध गराइने प्राधिकरणले जनाएको छ ।
हाल देशभर एनसेलका करिब ३८ लाख फोरजी प्रयोगकर्ता रहेका छन् । थ्रीजी सेवा प्रयोग गर्नेको संख्या भने करिब ३० लाख रहेको छ ।