काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरण अब जमल सर्ने भएको छ । हाल कमलादीमा कार्यालय रहेको नियामक अब जमलस्थित सांस्कृतिक संस्थानको भवनमा सर्ने भएको हो ।
संस्थानले सीएम ट्रेडिङ इन्टरप्राइजेज प्रालिसँग भएको ३० वर्षे सम्झौता भंग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितिमा संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, महाप्रबन्धक अशोकप्यासी राई र प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मंगलबार सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
काठमाडौंको जमलस्थित संस्थानको स्वामित्वमा रहेको शपिङ कम्प्लेक्स तथा अन्डरग्राउण्ड पार्किङ क्षेत्र सञ्चालन तथा व्यवस्थापनका लागि सीएम ट्रेडिङ र संस्थानबीच २०६४ सालमा ३० वर्षे सम्झौता भएको थियो । अत्यन्त न्यून दरभाउमा सम्झौता गरिएको भन्दै सुरुदेखी नै उक्त सम्झौतामाथि प्रश्न उठ्दै आएको थियो ।
मन्त्री भट्टराईले नयाँ सम्झौताले सांस्कृतिक संस्थान आत्मनिर्भरतातर्फ अघि बढेको बताउँदै अध्यक्ष तथा महाप्रबन्धकलाई धन्यवाद दिए । सीएम ट्रेडिङसँगको सम्झौताअनुसार आर्थिक वर्ष २०७७/०७८ सम्म आइपुग्दा मासिक भाडादर प्रतिवर्गफिट २० रुपैयाँमात्र थियो ।
सोही स्थान नेपाल दुरसञ्चार प्राधिकरणसँग मासिक प्रतिवर्ग फिट ७० रुपैयाँ भाडा दर कायम हुने गरी नयाँ सम्झौता भएको हो । सांस्कृतिक संस्थान सञ्चालक समितिका अध्यक्ष प्रेमनाथ अधिकारीले संस्थानको समृद्धिका लागि पुरानो सम्झौता बाधक भएको बताए ।
‘संस्थानको समृद्धिका लागि सीएम ट्रेड्रिसँगको सम्झौता भंग हुनु जरुरी थियो’, अध्यक्ष अधिकारीले भने, ‘संस्थानमा अरु पनि केही जटिल समस्या छन् । हरेक समस्या समाधानका लागि मेहनत गरिरहेका छौं ।’
सीएम ट्रेडिङसँग भएको सम्झौता भंग गरी नेपाल दूरसञ्चार प्राधिकरणसँग जीटुजी मोडेलमा नयाँ सम्झौता गरिएको महाप्रबन्धक अशोकप्यासी राईले बताए । ‘संगीन अवस्थामा गुज्रिरहेको संस्थानको समृद्धिका लागि निर्मम भएर त्यस्ता समस्याको समीक्षा गर्न जरुरी छ’, उनले भने ।
गत पुसदेखि कार्यभार सम्हालेका महाप्रबन्धक राईले सांस्कृतिक संस्थान सुधारका लागि २२ बुँदे कार्ययोजना प्रस्तुत गर्दै सीएम ट्रेडिङसँग भएको असन्तुलित सम्झौतालाई पूनरावलोकन गरिने समेत उल्लेख गरे ।
यसअघि संस्थानले आफ्नै पार्किङ क्षेत्रसमेत प्रयोग गर्न पाएको थिएन । अब त्यो समस्या समाधान भएको छ । महाप्रबन्धक राईले अगाडि भने, ‘लोकसंस्कृतिको संरक्षण, सम्वर्द्धन तथा विकासका लागि सांस्कृतिक संस्थानको समृद्धि आवश्यक छ ।’
सीएम ट्रेड्रिङसँगको सम्झौताअनुसार आव २०७७।७८ मा संस्थानले करिब एक करोड ३० लाख रुपैयाँ प्राप्त गरेको थियो । अब दूरसञ्चार प्राधिकरणबाट वार्षिक दुई करोड पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ ।
नयाँ सम्झौतामा प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि हुने उल्लेख छ । १० वर्षे नयाँ सम्झौताअनुसार आव २०८७।८८ मा संस्थानले प्राधिकरणबाट तीन करोड आठ लाख रुपैयाँ प्राप्त गर्नेछ । पुरानो सम्झौताअनुसार संस्थानले एक करोड ७१ लाख रुपैयाँमात्र पाउने थियो ।