काठमाडौं । गुगलले आफ्नो असिस्टेन्ट टुललाई थप अपाङ्गमैत्री बनाउन तोबी डाइनाभोक्ससँग साझेदारी गरेको छ । याे साझेदारी अन्तर्गत तोबीको एप स्नाप कोर फर्स्ट लाइनलाई गुगल भ्वाइस असिस्टेन्टसँग एकीकृत गरिनेछ ।
दुई सिस्टमको एकीकृत भएपछि अब बोली नआउने व्यक्तिले पनि गुगल असिस्टेन्ट प्रयोग गरेर घरेलु सामग्री तथा स्मार्ट होम प्रोडक्टहरुलाई नियन्त्रण गर्न सक्नेछन् ।
तोबी टेक उद्योगमा आफ्नो आई (आँखा) ट्र्याकिङ सफ्टवेयरका लागि चर्चित छ । उसले आफ्नो छुट्टै तोबी टेक नामको सब्सिडेरी कम्पनीमार्फत विद्युतीय सामाग्रीहरु, ल्यापटप र भीआर हेडसेटहरुका लागि सफ्टवेयर निर्माण गर्दछ ।
तोबीका स्पिच सेन्थेसिस ट्याबलेट र यसका अन्य सफ्टवेयर स्यूटहरुले अपाङ्गता भएका व्यक्तिहरुका लागि एसिस्टिभ प्रविधिको रुपमा काम गर्दछ ।
गुगलको हालकाे असिस्टेन्ट टुललाई प्रयोग गर्न आवाजको खाँचो हुने हुँदा आवाज निकाल्न नसक्ने व्यक्तिहरुले यसको प्रयोग गर्न सक्दैनन् ।
तर तोबीको नयाँ प्रविधिमा स्पिच सेन्थेसिस मसिनको प्रयोग गरेर गुगल डिभाइसहरुलाई नियन्त्रण गर्न सकिन्छ ।
उक्त स्पिच सेन्थेसिस डिभाइसले गुगल डिभाइसलाई सिधै कमान्ड पठाउँछ र अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो काम सम्प्नन गर्न सक्छन्।
यस्तै गुगलले आफ्नो सिस्टममा तोबी डाइनाभोक्सको लाइब्रेरीलाई पनि समावेश गरेको छ । जसमा दशौं हजार पिक्टोग्रामहरु छन् ।
पिक्टोग्राम भिजुअल सिम्बलहरु हुन्, जसलाई चाहेको शब्द, वाक्य वा क्रियाकलापमा अनुवाद गर्न सकिन्छ । यसरी अनुवाद गरिएको शब्द वा वाक्य तोबीको ट्याब्लेट लाइनमा प्रोग्राम हुन्छ ।