close

आफूलाई बदनाम गराउने रोड म्यापबाट हटाउँदै गुगल

टेकपाना टेकपाना

पुस १, २०७७ २१:४०

आफूलाई बदनाम गराउने रोड म्यापबाट हटाउँदै गुगल

काठमाडौं । केही दिन अघि मात्र रुसमा दुई जना युवा गुगल म्यापको सहयोगमा याकुत्स्क र मगदान शहरको बीचमा पर्ने यस्तो सडकमा पुगे, जहाँ उनीहरु मध्ये एक जनाको चिसोका कारण मृत्यु हुन पुग्यो ।

फेरी यस्तो घटना नहोस् भनेर गुगल म्यापले उक्त सडकलाई आफ्नो सिस्टमबाट नै हटाउने निर्णय लिएको छ । केही समय अघि १८ वर्षीय एक युवा र उनका साथी बेपत्त भए ।

स्थानीय प्रहरीले जब करिब एक सातासम्म लगाएर उक्त चिसो क्षेत्रमा खोजी थाल्यो, त्यहाँ दुवै युवा र उनीहरु सवार कार सहित ढाकिएको अवस्थामा फेला परे ।

उक्त क्षेत्रको तापक्रम माइनस ५० डिग्री सेल्सियससम्म पुग्ने गर्छ । यी दुवै युवालाई एउटा ‘बदनाम रोड’ अफ बोन्समा फेला पारिएको थियो ।

उक्त सडकलाई त्यहाँका स्थानीयले त्यस क्षेत्रकै एक खतरनाक सडक भएको दाबी गर्दै आएका छन् । जसमा कोही पनि जाँदैनन् ।

गुगल म्यापको गल्तीले उक्त सडकमा जान पुगेका ती दुई युवा मध्ये कार चलाइरहेका युवाको बरफले जमेर मृत्यु नै भयो । तर १८ वर्षीय अर्का युवा अस्पताल लगेपछि बाँच्न सफल भए ।

होसमा आएपछि उनले आफूहरु उक्त सडकमा फसेको र कारको रेडियटर बिग्रिन पुगेको बताए । यो घटना पश्चात गुगल म्यापले भविष्यमा हुनसक्ने स किसिमका घटनाबाट जोगिनका लागि आफ्नो सिस्टमबाट नै उक्त सडकलाई हटाउने फैसला लिएको छ ।

खासगरी चिसो मौसमका लागि कम्पनीले यो निर्णय कार्यान्वयन गर्नेछ । चिसो स्थानमा रहेका दुवै सहरबीच अनुमानित यात्राको समय ३१ घण्टा रहेको छ ।

तर अब यो सडकलाई हटाउँदा दुई सहरबीचको यात्रा दुरी ३ घण्टा थपिएर ३४ घण्टा हुनेछ । गुगलले यो निर्णय लिनुको पछाडि अर्को कारण के पनि छ भने चिसो समयमा बरफको सफाईका उपकरणको कमी तथा उक्त क्षेत्रमा यातायातको अभावका कारण सडकको अवस्था खतरापूर्ण हुने गर्दछ ।

यो घटना पश्चात गुगल म्यापको भरोसा गर्ने कि नगर्ने भन्ने किसिमको एउटा नयाँ बहस सुरु भएको छ । रुसी नागरिकहरु यतिखेर बरु स्थानीय म्यापिङ सेवा यन्डेक्स भरोसायोग्य रहेको बताउन थालेका छन् ।

गुगल म्याप्सको विश्वसनीयताको विषयलाई लिएर स्थानीयहरु सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्न थालेका छन् । यद्यपी केही स्थानीयहरु भने किशोरहरुले शाहसिक यात्राका लागि उक्त बाटो रोजेको हुनसक्ने अन्दाज समेत गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४