close

ट्वीटर भेरिफिकेसन फेरी सुरु हुँदै, यस्तो छ पुस १७ देखि लागु हुने कार्यविधि

टेकपाना टेकपाना

पुस ३, २०७७ १९:३४

ट्वीटर भेरिफिकेसन फेरी सुरु हुँदै, यस्तो छ पुस १७ देखि लागु हुने कार्यविधि

काठमाडौं । लामो समयदेखि बन्द भएको ट्वीटर भेरिफिकेसन आउँदो जनवरी १ अर्थात पुस १७ बाट पुनः सुरु हुने भएको छ । कम्पनीले भेरिफिकेसन कार्यविधिमा आमुल परिमार्जन गर्दै पुनः भेरिफिकेसन थाल्ने भएको हो ।

यसअघि कम्पनीले भेरिफिकेसन कार्यविधिको ड्राफ्ट सार्वजनिक प्रतिक्रियाका लागि उपलब्ध गराएको थियो । उक्त कार्यविधिमा आएको प्रतिक्रियाका आधारमा आवश्यक परिमार्जन गरी नयाँ कार्यविधि तयार पारेर कार्यान्वयनमा ल्याउन लागिएको हो ।

ट्वीटरले आफ्नो ब्लगमा भेरिफिकेसन कार्यविधिको ड्राफ्टका लागि २२ हजार भन्दा बढीले प्रतिक्रिया दिएको उल्लेख छ । प्रतिक्रियाकै आधारमा कार्यविधिमा केही परिवर्तन गरिएको छ ।

यसअघिको ड्राफ्टमा ट्वीटर अकाउण्ट भेरिफिकेसनका लागि अनिवार्य रुपमा बायो र हेडर इमेज हुनेपर्ने भनिएको थियो । तर, अब यसलाई वाध्यकारी नगरिएको उल्लेख छ ।

त्यस्तै न्युज उल्लेख गरिएको शीर्षकलाई न्युज एण्ड जर्नलिस्ट बनाइएको छ । यसको अर्थ समाचार माध्यम र पत्रकारको अकाउण्ट भेरिफाई गर्न सकिने छ ।

ट्वीटरको नयाँ नियम अनुसार सरकारी अकाउण्ट, कम्पनी, ब्राण्ड, गैरनाफामूलक संस्था, सञ्चार माध्यम, मनोरञ्जनात्मक अकाउण्ट, स्पोर्स्टस्, अभियान्ता, आयोजक र समाजमा प्रभाव पार्ने व्यक्तिका ट्वीटर ह्याण्डल भेरिफिकेसनका लागि योग्य हुनेछन् ।

यी सबैका लागि छुट्टाछुट्टै प्रावधान राखिएको छ । मिडियामा त्यसबारे छापिएको हुनुपर्ने अथवा विकिपिडियामा त्यसबारे जानकारी हुनुपर्ने उल्लेख छ ।

यसैगरी क्षेत्रगत रुपमा न्युनतम फलोअर हुने पर्ने प्रावधान समेत राखिएको छ । यसको अर्थ अब ट्वीटर भेरिफाई गर्नका लागि ट्वीटरले तोकेअनुसार न्युनतम फलोअर हुनुपर्नेछ ।

कम्पनीका अनुसार कुनै व्यक्ति वा संस्थाको ह्याण्डल भेरिफाइड भइसकेको छ भने उक्त ह्याण्डलको बायो र नाम परिवर्तन गरिएको खण्डमा भेरिफिकेसन खोसिने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४