काठमाडाैं । निजी क्षेत्रकाे सबैभन्दा ठूलाे इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेशन्सले देशका १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने भएकाे छ । बिहीबार पत्रकार सम्मेलन गर्दै वर्ल्डलिङ्कले ३ अर्ब रूपैयाँ बराबरकाे लगानीमा तीन वर्षभित्र ती डेटा सेन्टर निर्माण गर्न लागेकाे घोषणा गरेको हो ।
यसअन्तर्गत काठमाडौंको डेटा सेन्टर सबैभन्दा ठूलो ३ मेगावाट, ३५० र्याक सहित अन्तर्राष्ट्रिय मान्यताप्राप्त टियर फाेर पावर प्रणालीमा डिजाइन भएको तथा टियर ३ प्रमाणीकरण सहितको हुनेछ भने अन्य बाँकी डेटा सेन्टरहरु मध्यम र सानो आकारको टियर २ प्रमाणिकरण भएको हुनेछ ।
त्यस्तै चितवन जिल्लाको भरतपुरमा ५०० किलोवाट पावर भएको डेटा सेन्टर बन्नेछ । भक्तपुर, कास्कीको लेखनाथ, मकवानपुरको हेटौंडा, सुनसरीको दुहबी र पर्साको वीरगञ्जमा २५० देखि ३५० किलोवाट पावर भएको डेटा सेन्टर बन्ने भएको छ ।
त्यस्तै वर्ल्डलिङ्कले ढल्केबर, अत्तरिया, भैरहवा, कोहलपुर र सुर्खेतमा १०० देखि २०० किलोवाट पावर भएको डेटा सेन्टर बनाउनेछ । यो क्षमताको एउटा डेटा सेन्टर काठमाडौंमा पनि बनाइने कम्पनीले जनाएको छ ।
कम्पनीले दुईदेखि तीन वर्षभित्र डेटा सेन्टरको निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । यसको उद्देश्य ग्राहकहरुलाई भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवा दिन साथै डिजिटल नेपाल निर्माण गर्न सहयोग गर्नु रहेकाे कम्पनीले जनाएकाे छ ।
यी इन्टरनेट डेटा सेन्टरहरूको सुविधाले गर्दा सबै प्रयोगकर्ताहरुले इन्टरनेट सामग्रीहरु छिटो, सस्तो र अधिक विश्वसनीय स्तरको पाउने दाबी कम्पनीकाे छ ।
यहाँसम्म कि सरकारी र निजी संस्थाहरूले उनीहरूको आफ्नो डिजिटल र क्लाउडमा आधारित पूर्वाधारहरु सञ्चालन गर्न सुरक्षित र भरपर्दो विश्वस्तरीय सुविधा प्राप्त गर्ने कम्पनीले जनाएकाे छ।
कम्पनीले डेटा सेन्टर निर्माणमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण तथा नेपाल सरकारसँग सहकार्य गर्ने छ र यो पूर्वाधार डिजिटल नेपालकै अति महत्वपूर्ण पूर्वाधारको रुपमा स्थापित हुने जानकारी दिएकाे छ ।