काठमाडौं । दुर्गम क्षेत्रका विद्यार्थीलाई पाठ्यक्रमभन्दा बाहिरका ज्ञानवर्द्धक पुस्तक पुर्याउने उद्देश्यले बुक शेयर एप र गैरसरकारी संस्था शिक्षा नेपालबीच सहकार्य भएको छ ।
२०३० सम्म देशभरका पुस्तकदाताहरुबाट १ देखि १० कक्षासम्मका बालबालिकाहरुका लागि पाठ्यक्रमभन्दा बाहिरका स्टोरी तथा कमिक्स जस्ता विभिन्न बाहिरी पुस्तकहरु संकलन गर्ने संस्थाको उद्देश्य छ ।
अभियानको रुपमा अगाडि बढाइएको यो कार्यमा बुक शेयर एपले पुस्तक संकलनमा स्वयमसेवकको भूमिका खेल्नेछ ।
संकलित पुस्तकहरु दूरदराजका बालबालिकहरुलाई निःशुल्क बाँडिने बुक शेयर एपका संस्थापक जयन्द्रराज शाही बताउँछन् । पुस्तक सहयोग गर्न चाहनेहरुले बुक शेयर एप इन्स्टल गर्नु पर्नेछ ।
जुन एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध छ । पुस्तक संकलनका लागि बुक शेयर एपले आफ्नो प्लेटफर्ममा एउटा डेडिकेटेड स्पेस नै प्रदान गरेको छ ।
एपको माथिल्लो भागमा एक नेपाली एक किताब शीर्षक राखिएको छ । इच्छुकहरुले “इन्ट्रेस्टेड” लेखिएको बटनमा क्लिक गरेर भित्र छिर्न सक्नुहुन्छ ।
त्यहाँ शिक्षा नेपालको बारेमा विस्तृतरुपमा उल्लेख गरिएको छ । पुस्तक दिन चाहनेले आफ्नो विवरण भर्नु पर्नेछ । यसरी विवरण भरिसकेपछि सम्बन्धित व्यक्तिबाट शिक्षा नेपालले नै सम्पर्क गरेर पुस्तक संकलन गर्नेछ ।