काठमाडौं । मोटोरोलाले गत हप्तामात्रै स्न्यापड्रागन ८७० चिपसेट भएको पहिलो स्मार्टफोन ‘एज एस’ (Motorola Edge S) सार्वजनिक गरेकाे थियाे ।
मंगलबार चिनियाँ बजारमा भएकाे याे माेडलकाे पहिलाे फ्ल्यास सेलमा २ मिनेटभित्रै बिक्रीमा राखिएको सबै १० हजार मोबाइल सेटकाे स्टक सकिएकाे छ ।
खरिदका लागि उपलब्ध गराइएको सबै सेट बिक्री भएपछि कम्पनीले पुनः फेब्रुअरी ९ मा दोस्रो फ्ल्यास सेल गर्ने भएको छ । साथै यो फोन अन्य देशको बजारमा पनि चाँडै भित्रिने तयारीमा छ ।
६/१२८, ८/१२८ र ८/२५६ जीबी भेरियन्टमा उपलब्ध याे फाेनकाे मूल्य चिनियाँ यूआन १,९९९ देखि २,७९९ सम्म अर्थात् ३६ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म रहेको जनाइएको छ ।
यो फोन फुल एचडी रिजोलुसन सहित ६.७ इन्चको एलसीडी डिस्प्ले र ९० हर्जको रिफ्रेस रेट सहित आएको छ । डुअल पञ्च होल डिजाइन भएको फोनमा फ्रन्ट क्यामेरा १६ मेगापिक्सेल रहेको छ भने ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल क्यामेरा रहेको छ ।
त्यसैगरी फोनको पछाडि ४ वटा क्यामेरा लेन्स छ । जसअन्तर्गत ६४ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । एन्ड्राेइड ११ मा चल्ने यो फोनमा २० वाटको चार्जिङसहित ५ हजार एमएएचको शक्तिशाली ब्याट्री छ ।