close

चीनका ठूला प्रविधि कम्पनी आपसी टकरावमा

टेकपाना टेकपाना

माघ २३, २०७७ १६:३८

चीनका ठूला प्रविधि कम्पनी आपसी टकरावमा

काठमाडौं । चीनले ठूला टेक कम्पनीको प्रविधिमा डेटा प्रोटेक्सन, एन्टिट्रस्ट जस्ता विभिन्न विधालाई नियमन गर्ने भन्दै केही समयअघि नयाँ नीतिको तयारी गरेको थियो । योसँगै चीनका दुई ठूला कम्पनी बाइटड्यान्स र टेन्सेन्ट एकअर्कासँग जुधिरहेका छन् ।

चीनको बेइजिङमा आधारित शर्ट भिडियो प्लेटफर्म टिकटकको मुख्य कम्पनी बाइटड्यान्सले टेन्सेन्ट विरुद्ध मुद्दा दायर गरेको छ । चीनको सेन्जेनमा रहेको सोसल मिडिया कम्पनी टेन्सेन्टले बजारमा रहेको आफ्नो प्रभावको फाइदा उठाउँदै अन्य कम्पनी पाखा लगाउने काम गरिरहेको साे मुद्दामा उल्लेख गरिएको छ ।

हाल प्रयोगकर्ताको हिसाबले चीनमा टेन्सेन्ट सबैभन्दा अघि रहेको छ । जसअन्तर्गत वीच्याट, क्यूक्यू म्यासेजिङ एप पर्छन् । उक्त कम्पनीले वीच्याट, क्यूक्यू म्यासेजिङ एपमार्फत आगामी तीन वर्षसम्म टिकटकका भिडियो लगायतका कन्टेन्ट शेयर गर्न प्रतिबन्ध लगाएको छ ।

यसैलाई लिएर बाइटड्यान्सले मुद्दा दायर गरेको हो । उक्त मुद्दामा बाइटड्यान्सले कन्टेन्ट शेयरिङ फुकुवा गर्नुपर्ने र यसले कम्पनीको आम्दानीमा परेको १४ मिलियन डलर समेत क्षतिपूर्ति तिर्नुपर्ने माग राखेको छ ।

‘प्रतिस्पर्धा प्रयोगकर्ताको लागि फाइदाजनक हुन्छ,’ टिकटकका प्रवक्ताले भनेका छन, ‘त्यसैले हामीले हाम्रो र हाम्रा प्रयोगकर्ताको अधिकारका लागि यो मुद्दा दर्ता गरेको हौं ।’

अर्कोतर्फ टेन्सेन्टले पनि आफू बाइटडान्स विरुद्द मुद्दा हाल्ने तयारीमा रहेको बताएको छ । बाइटड्यान्स र टेन्सेन्ट चीनकाे सोसल मिडियाको बजारमा दुई ठूला कम्पनी हुन् ।

टेन्सेन्टको वीच्याटमा हाल १.२ विलियन अर्थात १ अर्ब २० करोड मासिक सक्रिय प्रयोगकर्ता रहेका छन् ।

त्यस्तै क्यूक्यू एपमा ७ सय मिलियन मासिक सक्रिय प्रयोगकर्ता रहेका छन् । त्यस्तै बाइटड्यान्स अर्थात् टिकटकमा ६०० मिलियन दैनिक सक्रिय प्रयोगकर्ता रहेका छन् ।

यी दुई कम्पनी लामो समयदेखि झगडा गर्दै आएका छन् । मुख्यत सन् २०१८ यता उनीहरु एक अर्कालाई अस्वस्थ प्रतिस्पर्धा गरिरहेको भन्दै आरोप लगाउँदै आएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१