close

कास्कीका औषधि पसलमा अब क्यूआर कोडबाटै भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

चैत २९, २०७७ १७:३२

कास्कीका औषधि पसलमा अब क्यूआर कोडबाटै भुक्तानी गर्न सकिने

काठमाडाैं । भुक्तानी सेवाप्रदायक ईसेवा र नेपाल औषधि व्यवसायी संघ कास्कीबीच क्यूआर भुक्तानी तथा डिजिटल पार्टनरशिपका लागि सम्झौता भएको छ ।

सम्झौता पत्रमा नेपाल औषधि व्यवसायी संघ कास्कीका तर्फबाट अध्यक्ष विक्रम पन्त र ईसेवाका तर्फबाट बिजनेस म्यानेजर रोशन राईले हस्ताक्षर गरे ।

सम्झौताअनुसार कास्कीभित्र रहेका संघ अन्तर्गतका सदस्य औषधि व्यवसायीहरुले फोनपेद्वारा सञ्चालनमा ल्याइएको क्यूआर कोडसम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग गर्नेछन् ।

फोनपेले ईसेवालगायत आफ्ना अन्य सदस्यमार्फत डिजिटल कारोबार प्रवर्द्धनमा सघाउनेछ । यस्तै कास्कीका औषधि व्यवसायी आबद्ध अस्पतालहरुमा ईसेवामार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने व्यवस्था समेत मिलाइनेछ ।

पछिल्ला दिनमा क्यूआर भुक्तानीलाई पनि आक्रामक ढंगबाट अगाडि बढाइरहेको ईसेवाले यसअघि पनि पोखरा उद्योग वाणिज्य संघ र पश्चिमाञ्चल होटल संघसँग क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीप सम्झौता गरिसकेको छ ।

डिजिटल पोखराको अभियानमा ईसेवाले तीव्र गतिमा काम गरिरहेको छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ईसेवाले पछिल्ला दिनमा सरकारी क्षेत्रमा शुल्क बुझाउँदा बेहोर्नुपर्ने झञ्झटको अन्त्य गर्न विभिन्न किसिमका सेवा थप गर्दै गएको छ ।

हाल ईसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४२ लाख छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले ईसेवामार्फत सेवा लिइरहेका छन् ।

हाल ईसेवाका देशभर करिब एक लाख २० हजार भन्दा बढि एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल ईसेवामा मर्चेन्टको संख्या करिब २ लाख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१